अमानवीय व्यवहार  गरेको आरोपमा  ६ जना गिरफ्तार

  ०७७ जेठ १५ गते

४० वर्षीया महिलालाई मोसो र जुत्ताको माला लगाएर अमानवीय व्यवहार गरेको आरोपमा  प्रहरीले पीडितका ४५ वर्षीय जेठाजु, ४३ वर्षीय जेठानी, २८ वर्षीय देवर, २६ वर्षीया देवरानी, २८ वर्षीय भतिजा नातापर्ने  र २२ वर्षीय छोरालाई  जेठ १४ गते  गिरफ्तार गरेको छ ।

परपुरुषसँग लागेको आरोपमा आरोपितहरूले   जेठ १२ गते मोसो दलेको  र जुत्ताको माला लगाएर अमानवीय व्यवहार गर्नुको साथै ढुङ्गामा हात राखेर थिचि दिएका,े लगाएको लुगा च्यातेर घर निकाला गरेको भन्दै पीडितले  जेठ १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।

जिल्ला प्रहरी कार्यालयले छलफलका लागि बोलाएर कुरा नमिले पछि गिरफ्तार गरेको थियो । घटनामा सङ्लग्न  ७५ वर्षीय ससुरालाई भने प्रहरीले तारेखमा रिहा गरेको छ ।  घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका  डिएसपी सुमित खड्काले बताउनु भयो ।

पीडित महिलालाई जेठ ७ गते घरमा परपुरुषसँग बसेको आरोपमा परिवारका सदस्यहरूले घरमा ताला लगाइदिएपछि  नजिकै रहेको  माइतीमा गएकी थिइन् ।  जेठ १२ गते घर फर्किएर ताला तोडेर भित्र पस्न खोज्दा आरोपितहरूले जुत्ताको माला र  मोसो लगाउनुको साथै  कपडा च्यातेका थिए ।

पीडित एक छोरा र छोरीसँग घरमा बस्दै आउनु भएको थियो । पीडितका पति दोस्रो विवाह गरेर लामो समयदेखि भारतमा बस्दै आएका छन । भने जेठा छोरा बुहारी बाहिर बस्दै अएका छन् ।

पीडितको स्वास्थ्य परीक्षण जेठ १३ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको प्रहरीले जनायो ।


जयनारायण पुन