अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न मानव अधिकार आयोगको आग्रह

  ०७६ असोज १५ गते

राष्ट्रिय मानव अधिकार आयोगले नेपालको संविधानमा व्यवस्था गरिएको नागरिकको अभिव्यक्ति स्वतन्त्रता एवम् विना कुनै अवरोध भयरहित वातावरणमा एक ठाउँबाट अर्को ठाउँमा सहज रूपमा आवत्जावत् गर्न पाउने अधिकारको सम्मान गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।

आयोगले असोज १४ गते एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य डाक्टर मिनेन्द्र रिजाललाई असोज १२ गते तनहुँ जिल्लाको रिसिङ्ग जाने क्रममा तनहुँमा गरिएको अवरोध एवम् ‘नेपालका लागि नेपाली’ अभियानका सदस्य ज्ञानेन्द्र शाहीमाथि असोज ११ गते चितवनमा भएको आक्रमणको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले यस प्रकारका घटना दोहोरिन नदिने दृढता सरकारबाट आउन नसकेकोमा चिन्ता प्रकट गर्दै घटनाका दोषी पत्ता लगाई कानुनबमोजिम सजाय दिलाउन सरकारले देखाएको उदासीनताले मुलुकमा सुशासन र मानव अधिकारप्रति सरकारले गरेको प्रतिबद्धतामा प्रश्न उठेको आयोगका सचिव एवम् प्रवक्ता वेद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मानव अधिकारको विश्वव्यापी घोषणा पत्र, १९४८ को धारा १९ र २०, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको धारा १९ र २१ एवम् नेपालको संविधानको धारा १७ द्वारा नागरिकलाई देशका कुनै पनि भागमा गई बिना हातहतियार सभा सम्मेलन गर्ने, मर्यादित ढङ्गले आफ्ना विचार राख्ने र शान्तिपूर्ण गतिविधि गर्ने स्वतन्त्रताको प्रत्याभूति गरिएको उल्लेख छ ।

कुनै पनि बहानामा यस किसिमको स्वतन्त्रताको अपहरण नगर्न तथा सभा सम्मेलन गर्ने र आफ्नो विचार राख्ने अभिव्यक्ति स्वतन्त्रताको वातावरण सिर्जना गर्न आयोगले विज्ञप्तिमार्फत नेपाल सरकारलाई आग्रह गरेको छ ।

सभा, सम्मेलन जस्ता गतिविधिहरू गर्दा कुनै पनि व्यक्तिको मर्यादामा आँच आउने गरी अभिव्यक्ति नदिन र कुनै व्यक्ति वा निकायले कानुन विपरीत कार्य गरेमा कानुनी बाटो अवलम्बन गर्न समेत आयोगले सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

निर्वाध रूपमा आवतजावत र विचार अभिव्यक्तिको स्वतन्त्रता जस्ता मानव अधिकारका आधारभूत प्रश्नमा सरकार गम्भीर नदेखिनु मुलुकको लागि हितकर हुन नसक्ने आयोगको निचोड रहेको बताइएको छ ।


दीपकप्रसाद घिमिरे