अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताप्रति सम्मान गर्न अधिकारकर्मीहरूको अपिल

  ०७६ वैशाख ३१ गते

पर्सा जिल्ला वीरगन्ज श्रीपुर स्थित एभिन्युज टेलिभिजनको प्रदेश २ को ब्युरो कार्यलयमा तोडफोड भएको घटना तथा नेपाल सरकारले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामाथि अङ्कुश लगाउने गरी ‘मिडीया काउन्सिल’ विधयेक संसदमा दर्ता गरेकोप्रति जबाफदेहीता निगरानी समितिले गम्भीर ध्यानार्कषण भएको जनाएको छ ।

समितिका संयोजक चरण प्रसाईले वैशाख ३१ गते प्रेस विज्ञप्तिमार्फत यस्तो ध्यानाकर्षण भएको जनाएका हुन् ।

‘अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता लोकतन्त्रको न्युनतम मान्यता एवम् प्रमुख आधार हो । यसका मुल्य–मान्यतालाई आत्मासात गर्न नसक्नु भनेको लोकतन्त्रप्रतिको उपहास हो ।’–विज्ञप्तिमा भनिएको छ ।

सञ्चार गृहमाथि गरिने भौतिक आक्रमण तथा नियन्त्रणमुखी ऐन लोकतान्त्रिक प्रणालीमा कुनैपनि वाहानामा स्वीकार्य हुन नसक्ने समितिले जनाएको छ ।

‘प्रेसमाथि हुने गरेका आक्रमण, नियन्त्रण  र संकुचनबाट नागरिकका ‘अभिव्यक्ति स्वतन्त्रता’सम्बन्धी आधारभुत हक अधिकार समेत कुण्ठित हुने निश्चित छ ।’–विज्ञप्तिमा जनाइएको छ ।


अनलाइन डेस्क