अपिहिमाल गाउँपालिकामा अत्यावश्यक औषधि अभाव

  ०७५ वैशाख १० गते

दार्चुलाको अपिहिमाल गाउँपालिकाका स्वास्थ्य संस्थाहरुमा अत्यावश्यक औषधि अभाव भएको छ । गाउँपालिकाले खरिद गरेको औषधिमा अत्यावश्यक औषधि कम खरिद भएपछि औषधि अभाव भएको हो ।

गाउँपालिका भित्रका ६ वटै वडाका स्वास्थ्यचौकीमा अत्यावश्यक औषधि छैन । गर्मीयाममा बढी जसो झाडापखालाका बिरामी आउने गरेको भएपनि औषधि छैन ।

बिरामीलाई मेट्रोमिटाझोल दिइने भएपनि सबै स्वास्थ्य संस्थामा यो औषधि नभएको खण्डेश्वरी स्वास्थ्य चौकीका अहेब कमलसिंह धामीले बताए ।

महिलाहरूको लागि चाहिने आइरन चक्कीसमेत नभएको सेवाग्राहीले आरोप लगाएका छन् । एक महिनादेखि गर्भवती महिलाहरूलाई आइरन चक्की दिन सकिएको छैन, अहेब धामीले भने । सोमबार नियमित गर्भवती जाँच गराउन आएका महिलाहरूलाई आइरन चक्की नदिएरै पठाइएको छ ।

६ वटा वडा रहेको गाउँपालिका भित्रका सबै स्वास्थ्य संस्थामा अत्यावश्यक औषधि अभाव भएपनि खरिद गरिएको छैन । गाउँपालिकाले गत कात्तिकमा ५ लाख रुपियाँ बराबरको औषधि खरिद गरेको भएपनि अत्यावश्यक औषधि खरिद नगर्दा समस्या भएको स्वास्थ्यकर्मीले बताएका छन् ।

घुसा स्वास्थ्य चौकीमा आँखाका रोगीहरूको लागि चाहिने आइ ड्रप झोल नभएको सो चौकीले जनाएको छ ।

गाउँपालिका स्वास्थ्य संयोजक उमेश यादवले भने आइरन चक्की अभाव भएपनि अन्य औषधि मौज्दात रहेको बताए । 'आइरन चक्की जिल्ला स्वास्थ्य कार्यालयबाट माग गरिएको छ ।'-यादवले भने-'एक/दुई दिनभित्र ल्याइपुर्‍याउने तयारी गरिएको छ ।' स्वास्थ्य संस्थामा स्वास्थ्य विभागबाट प्राप्त १ लाख रुपियाँ  र थप बजेट खोजी गरी औषधि खरिद गरिने यादवले बताए ।


नरेन्द्रसिह कार्की