अपाङ्गमैत्री भौतिक संरचना नहुँदा सेवाग्राही समस्यामा

  ०७७ पौष २४ गते

जिल्लामा अपाङ्गमैत्री भवन निर्माण नभएका कारण सेवा प्रवाह गर्ने निकायबाट सेवा लिन समस्या भएको अपाङ्गता तथा अशक्त भएका व्यक्तिहरुले गुनासो गरेका छन् ।

निर्माण गरिएका सरकारी कार्यालयहरु अपाङ्गमैत्री नभएका कारण कार्यालयमा पुगेर सहज रुपमा सेवा लिन समस्या हुँदै आएको केआईसिहँ गाउँपालिका–४ वायलका अशक्त तथा अपाङ्ग भरतराज अवस्थीले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– ‘सरकारी कार्यालयमा कामकाजको सिलशिलामा जाँदा कोठाकोठा धाउनु पर्ने हुन्छ । अपाङ्गमत्री भवन नभएका कारण अशक्त व्यक्तिलाई कार्यालयको आँगनसम्म पुग्न समेत कठिन हँुने गरेको छ । यसका लागि सरकारले ध्यान दिन सकेको छैन् ।’

जिल्लामा निर्माण गरिने सरकारी तथा गैरसरकारी कार्यालयका भवनहरु अपाङ्गमत्री नभएका कारण अपाङ्गता भएका व्यक्तिहरुले सहज रुपमा सेवा लिन नसकेको अपाङ्ग सेवा सङ्घका पूर्व जिल्ला अध्यक्ष महादेब भारतीले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘ सेवा प्रवाह गर्ने कार्यालयहरु अपाङ्ग मैत्री छैनन् । कार्यालयमा सेवा लिन गएका अपाङ्गता तथा अशक्त व्यक्तिहरुलाई बोकेर कार्यालय भित्र लिनु पर्ने अवस्था छ । यसले गर्दा उहाँहरुले सास्ती खेपिरहनु भएको छ ।’

अपाङ्गमैत्री भौतिक संरचना बनाउन  २०६९ सालमा अपाङ्गता भएका  व्यक्तिका लागि  पहुँचयुक्त संरचना बनाउन  सञ्चार निर्देशिका जारी गरिएको भएपनि  त्यसको कार्यान्वयन  नगरि भवन निर्माण गर्नाले समस्या उत्पन्न भएको दिपायल सिलगडी नगरपालिका–४ का स्थानीय गणेश बोहराले बताउनु भयो ।

कार्यालयहरु र बाटो अपाङ्गमैत्री नभएका कारण आफूहरु बिभिन्न प्रकारका अवसरबाट वन्चित हुँनु परेको शिखर नगरपालिका– १ कफेकीका स्थानीय लक्ष्मण बिक र दिपायलका महेन्द्रबहादुर शाहले गुनासो गर्नु भयो ।

नयाँ निर्माण गरिने भवनहरु अपाङ्गमैत्री बनाउने सरकारको नीति भएको भएपनि सो अनुरुपका भवन तथा संरचना निर्माण नगरिएकोले अपाङ्गता भएका व्यक्तिलाई सेवा लिन समस्या हुँदै आएको अपाङ्ग सेवा सङ्घ, डोटीका जिल्ला अध्यक्ष रोसन बेगटीले बताउनु भयो ।

अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको क्षेत्रमा काम गर्ने स्थानीय सङ्घसस्थाले पटकपटक बहस तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी सरकारी कार्यालयहरुलाई अपाङ्गमैत्री बनाउन सम्बन्धीत निकायको ध्यानकर्षण गराएको भएपनि यसको सुनवाई नभएको सामुदायिक मञ्चका अध्यक्ष झक्त सिंहले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘जिल्लाका नौ ओटै स्थानीय तहमा १ हजार भन्दा बढी अपाङ्गता भएका व्यक्ति रहेका छन् । उहाँहरुमध्ये ४ सय जनाले अहिलेसम्म पनि अपाङ्गता परिचय–पत्र पाउन सकेका छैनन् । अपाङ्गमैत्री संरचना निर्माण त टाँढैको कुरा भयो ।’

आपाङ्गता भएका व्यक्तिहरुको समस्यालाई ध्यानमा राखेर आगामी दिनमा स्थानीय तहमा निर्माण गरिने भौतिक संरचनाहरु अपाङ्गमैत्री बनाउन आवश्यक रहेको दिपायल सिलगडी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष सन्तोष बोहराले बताउनु भयो  ।

प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराईले अपाङ्गमैत्री भवन निर्माण हुँन नसकेका कारण अपाङ्ता तथा अशक्त व्यक्तिहरुलाई सेवा लिन समस्या भएको बताउँदै स्थानीय तहहरुले भौतिक संरचना निर्माण गर्दा अपाङ्गमैत्री बनाउन आवश्यक रहेको बताउनु भयो ।


बासुदेब जोशी