अपाङ्गमैत्री भवन नहुँदा समस्या

  ०७५ मङ्सिर ६ गते

इलाममा अपाङ्गमैत्री भवन नहुँदा विद्यार्थीदेखि सरकारी सेवा लिने अपाङ्गता भएका व्यक्तिहरू प्रभावित भएका छन् ।

नेपाल सरकारले २०६० सालमै अपाङ्गमैत्री भवन निर्माणका लागि ऐन बनाएको छ । ऐन र नियमावली निर्माण भएको १५ वर्षबितेपनि अपाङ्गमैत्री भवन निर्माण हुन नसक्दा दुःख भएको अपाङ्ग एकता समाज इलामका सचिव प्रकाश चापागाईंले बताए ।

'अहिलेसम्म भएका सरकारी कार्यालय अपाङ्गमैत्री छैनन् । अपाङ्गता भएका व्यक्ति सेवा लिन आउँदा बाहिरै बस्नुपर्ने बाध्यता छ ।'-चापागाईंले भने-'विद्यालय तथा कलेज पनि सहजै हृवीलचेयर पुग्न सक्ने किसिमले बनाइएको छैन ।'

कलेजहरूमा हृवीलचेयर नजाँदा अपाङ्गता भएका विद्यार्थीहरू शिक्षा लिने अधिकारबाटै वञ्चित भएको चापागाईंको भनाइ छ ।

महिला तथा बालबालिका कार्यालय हटेपछि अहिले जिल्लामा अपाङ्गता भएका व्यक्तिको सङ्ख्या कति छ ? भन्ने तथ्याङ्क राख्ने सरकारी निकाय नहुँदा अर्को समस्या आएको चापागाईंले बताए ।

अपाङ्गमैत्री भवन बनाउने नियम रहेपनि यस्ता किसिमका भवन निर्माणमा ध्यान नदिनु दुःखद भएको जिल्ला समन्वय समिति प्रमुख गणेश बरालले बताए । प्रमुख बरालले अब बन्ने भवनहरूलाई अपाङ्गमैत्री बनाउनु पर्छ भन्ने विषयमा समन्वय समितिले सचेत गराउन थालेको बताए ।


कोकिला ढकाल