अपाङ्गता भएकी शिक्षिकालाई विद्यालयमा हाजिर गर्न रोक

  ०७६ मङ्सिर १८ गते

अपाङ्गता भएका व्यक्तिहरुको २८ औ अन्तरराष्ट्रिय दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइरहँदा शुक्लगण्डकी नपा–७ स्थित शुक्ला प्राविमा सरुवा भएकी शिक्षिका तारादेवी पौडेललाई विद्यालयले एक सातासम्म हाजिर गर्न नदिएको पौडेलले आरोप लगाउनुभयो । आफूलाई अपाङ्गता भएकै कारण विद्यालयले हाजिर नगराएको उहाँको आरोप छ ।

यस अघि सोही नपाको वडा नम्बर २ स्थित शिला प्राविमा अध्यापन गराउनु भएकी पौडेल हालैको शिक्षक सेवा आयोगको परिक्षामा उत्तीर्ण भई स्थायीको नियुक्ति लिएर शुक्ल प्राविमा पदस्थापना हुनु भएको थियो ।

उहाँलाई शुक्लगण्डकी नगरपालिकाले सो विद्यालयमा पदस्थापना गरेको थियो । शिक्षिका पौडेलले नियुिक्त पत्र लिएर गत मङ्सिर ११ गते नै विद्यालयमा गएपनि हालसम्म विद्यालय प्रशासनले भने हाजिर गराएको छैन ।

शारीरिक अपाङ्गता भएकी शिक्षिका पौडेल विगत ११ वर्षदेखि शिला प्राविमा अध्यापन गराउँदै आउनु भएको थियो ।

आफू सो विद्यालयमा पदस्थापना भएर गएपछि यसअघि त्यहाँ कार्यरत अस्थायी शिक्षकको जागिर जाने भन्दै सकेसम्म अन्यत्रै विद्यालयमा जान मनोवैज्ञानिक दबाब दिएको उहाँले बताउनुभयो ।

शुक्लगण्डकी नगरपालिका शिक्षा शाखाका अधिकृत ज्योतीप्रकाश तिमल्सिनाले विद्यालयका प्रधानाध्यापकको राजीनामा आइसकेको तर स्वीकृत नभएको कारण हाजिर गर्न केही समस्या भएको हुन सक्ने बताउनुभयो ।

उहाँले अहिले सामान्य कापीमा हाजिर गर्न शिक्षिका पौडेललाई अनुरोध गरिएको र केही दिनमा समस्या समाधान हुने बताउनुभयो । नयाँ प्रधानाध्यापक आएपछि सबै समस्या समाधान हुने उहाँको भनाइ छ ।

शुक्लगण्डकी नपा–७ का वडा अध्यक्ष रामबहादुर क्षेत्री थापाले अपाङ्गता भएकै कारण हाजिर हुन नदिएको भन्ने कुरा गलत भएको बताउनुभयो ।

अहिले प्रधानध्यापकले राजीनामा दिएको र अन्य दुई जना शिक्षकहरू पनि अन्यत्रै सरुवा भएको कारण केही समस्या भएपनि चाँडै नै समाधान हुने बताउनुभयो ।


प्रकाशचन्द्र भट्टराई