अपाङ्गता भएका ३ सयभन्दा बढी बालबालिका शिक्षाको अधिकारबाट वञ्चित

  ०७६ मङ्सिर १८ गते

जिल्लाभर मङ्सिर १७ गते २८ औँ अन्तराष्ट्रिय अपाङ्ग दिवस मनाइरहँदा बगनासकाली गाउँपालिका–८ बराङ्दीका १४ वर्षीय दामोदर पाण्डे र उहाँका ११ वर्षीय भाइ ऋषिराम पाण्डेको दैनिकी आँगन र पिँढीमै खेलेरै बित्यो । यो दिन मात्रै हैन उहाँहरूको दैनिकी सधैँ यसैगरी नै पिँढीमै खेलेर बित्छ ।

उहाँहरू न स्कुल जान्छन् न त घरमा नै पढ्छन् । दामोदर र ऋषिराम दुवैमा मानसिक तथा शारीरिक अपाङ्गता छ ।

घरका सदस्य बाहेक अरूलाई नचिन्ने, सुन्ने तर हाउभाउबाट पनि कुनै प्रतिक्रिया नदिने उहाँहरूको अवस्था छ ।

दामोदर र ऋषिरामका बाबु यज्ञप्रसाद पाण्डे र आमा कमला पाण्डे हुनुहुन्छ । उहाँहरूका सन्तानका नाममा रहेका दुई छोरा नै अपाङ्ग भएपछि पाण्डे दम्पति चिन्तित हुनुहुन्छ ।

पाण्डे दाजु भाई मात्रै हैन उहाँहरू जस्तै ३ सय जनाभन्दा बढी अपाङ्गता भएका बालबालिकाहरूको दैनिकी अहिले पनि आँगन र पिँढीमा मात्रै सीमित छ ।

अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको संस्था सिविआरका कार्यक्रम संयोजक कृष्ण गहतराजले पाल्पाका दुई नगरपालिका र आठ गाउँपालिका भित्र ३ यस जनाभन्दा बढी बालबालिकाहरूले अपाङ्गता भएकै कारण शिक्षा, स्वास्थ्य लगायत सम्पूर्ण अधिकारबाट वञ्चित भएको बताउनुभयो ।

‘जन्मजात वा जन्मेपछि विभिन्न कारणले अपाङ्गता भएका बालबालिकाहरू उचित स्वास्थ्योपचार र शिक्षाको अभावमा आँगन र पिँढीमै सीमित भएका छन् ।’–उहाँले भन्नुभयो ।

नेपालको संविधान २०७२ मा मौलिक हक अन्तर्गत धारा ३१ मा शिक्षाको हक, धारा ३५ मा स्वास्थ्यको हक, र धारा ३९ मा बालबालिकाको हक रहेपनि उहाँहरूले यी कुनै पनि हकको राम्रो गरी उपयोग गर्न पाउनुभएको छैन ।

धारा ३१ को शिक्षाको हक अन्तर्गत अपाङ्गता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानुन बमोजिम निशुल्क उच्च शिक्षा पाउने हक सुनिश्चित गरिएको छ त्यस्तै दृष्टिविहीन नागरिकलाई ब्रेललिपी तथा बहिरा र स्वर बोलाइसम्बन्धी अपाङ्गता भएका नागरिकलाई साङ्केतिक भाषाको माध्यमबाट कानुन बमोजिम निःशुल्क शिक्षा पाउने हकको सुनिश्चत गरिएको छ ।

पाल्पामा सरकारी स्तरबाटै दृष्टिविहीन बालबालिकाहरूका लागि दमकडा माध्यमिक विद्यालयमा अध्ययनको व्यवस्था गरिएको छ ।

त्यस्तै कान नसुन्ने बालबालिकाहरूका लागि पप मावि र भवानी माध्यमिक विद्यालयमा अध्ययनको व्यवस्था गरिएको छ ।

तर, अति अपाङ्गता भएका विद्यालय बोकेरै ल्याउनुपर्ने अपाङ्गता भएका बालबालिकाहरूका लागि भने सरकारी रूपमा कुनै पनि विद्यालय छैन ।

अति अपाङ्गता भएका बालबालिकाहरूका लागि लक्षित गरी विभिन्न अक्षयकोष दाताहरूको सहयोगमा सिविआरले दुई वर्षदेखि स्याहार केन्द्रको रूपमा विद्यालय सञ्चालन गरेपनि आर्थिक अभावमा धेरै बालबालिकाहरूलाई समेट्न नसकिएको सिविआरका कार्यक्रम संयोजक गहतराजले बताउनुभयो ।

यहाँ अहिले अति अपाङ्गता भएका १२ जना बालबालिकाहरूले सेवा लिँदै आएका छन् । ‘नियमित उपचार र थेरापी गराउन सक्ने हो भने धेरै बालबालिकाहरूको दैनिकी सहज हुन सक्ने अवस्था छ यसबारे सम्बन्धित स्थानीय तहहरूले सोच्नुपर्छ ।’–उहाँले भन्नुभयो ।

चार प्रकारका अपाङ्गता मध्ये सामान्य र मध्यम अपाङ्गता भएकाहरूले आफ्नो काम र दैनिकी गुजार्न सक्ने भएपनि पूर्ण र अति अपाङ्गता भएका व्यक्तिहरूका लागि शिक्षा स्वास्थ्यको उचित व्यवस्थापन हुन सकेको छैन ।

दोभान पाल्पाकी विष्णुदेवी घिमिरेले स्थानीय तहको गठनपछि अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरेर हुने कार्यक्रमहरू कम हुँदै गएको गुनासो गर्नुभयो ।

‘चुनावको बेला हामीलाई ह्विलचियरमै राखेर भएपनि मतदान केन्द्र सम्म लैजान्छु भन्ने नेताहरूले समेत अहिले खासै चासो दिनुभएको छैन ।’–उहाँले भन्नुभयो ।


यज्ञमूर्ति तिमिल्सिना