अपाङ्गता भएका व्यक्तिहरू परिचय पत्रविहीन !

  ०७६ मङ्सिर १९ गते

बेसीशहर नगरपालिकामा अपाङ्गता भएकाहरूले अझैसम्म अपाङ्गता परिचय पत्र नपाएको अपाङ्ग संरक्षण समाजका अध्यक्ष एवम् राष्ट्रिय अपाङ्ग महासङ्घका केन्द्रिय सदस्य चन्द्रकान्त पौडेलले बताउनुभएको छ ।

उहाँका अनुसार बेसीशहर नगरपालिकामा अपाङगताको सङ्ख्या ४ सय ५० रहेको र त्यस मध्ये १ सय १५ जनाले मात्र अपाङ्गता परिचय पत्र पाएकोे बताउनुभएको हो । परिचय पत्र नहँुदा नेपाल सरकारको मासिक सुरक्षा भत्ता समेत प्रभावित भएकोे छ ।

अपाङ्गता परिचय पत्र नहुँदा लोकसेवा आयोग, शिक्षक सेवा आयोग तथा यातायात साधनमा भाडामा छुट जस्ता सेवा सुविधाबाट वञ्चित हुनुपरेको बेसीशहर नगरपालिका–३ का अपाङग सुष्मा मलेपतिले बताउनुभएको छ ।

नगरपालिकाको महिला विकास शाखाका प्रमुख धनकुमारी दुराका अनुसार ३ सय ३५ जनाका परिचय पत्र नविकरण गर्न बाँकी भएको बताउनुभयो ।

परिचय पत्रको ढाँचा अलि परिवर्तन भएर आएकोले काम गर्न अलि ढिलो भएको दुराले बताउनुभयो । हालसम्म रातो कार्ड ३२, निलो कार्ड ६६, पहेलो कार्ड १६ र सेतो कार्ड एक जनाले परिचय पत्र पाएको दुराले जानकारी दिनुभएको छ ।

नगर प्रमुख गुमानसिंह अर्यालका अनुसार यस्तो संवेदनशिल विषयमा छिटोभन्दा छिटो काम गर्न कर्मचारीलाई निर्देशन दिइएको छ ।

अबको एक हप्ता भित्रै नगरपालिका भित्र रहेका सबै अपाङ्गता भएका व्यक्तिहरूले अपाङ्ग परिचय पत्र हात हातमा पाउने उहाँले विश्वास दिलाउनु भएको छ ।


दलबहादुर मजाकोटी