अपाङ्गता भएका व्यक्तिको हातमा हथौडा र दैनिकी गिट्टीसँग

  ०७६ भदौ २२ गते

खेतीपाती गरौँ शरीरले साथ दिँदैन । जन्मजातनै दुवै गोडा नभएका कारण साँझ बिहानको छाक टार्न धौधौ पर्छ उनलाइ । राज्यले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता मासिक ६ सय रुपियाँले घर चल्न नसकेपछि गिट्टी कुट्नु पर्ने बाध्यता छ उनको । खेतीयोग्य केही जमीन भएपनि बैशाखीको साहारामा हिँडडुल गर्ने गरेका उनले खेती गर्न नसकेपनि पेटको लागी केही न केही जोहो त गर्नै पर्छ । यो दिनचर्या हो बन्गाड कुपिन्डे नगरपालिका सल्लीबजारका ५८ वर्षीय जीवन सुनारको । शारीरिक रूपले अपाङ्गता भएपनि जीविकोपार्जनका लागि उनले विगत १६ वर्षदेखि गिट्टी कुट्दै आएका छन् ।

२०५८ सालमा दार्माबाट सल्लीबजार बसाई सरेपछि सम्पत्तिको नाममा एक रोपनी आवादी घरबास रहेको तर त्यसमा खाद्यबाली उत्पादन नहुने भएकाले १६ वर्षदेखि गिट्टी कुटेरै जीवन निर्वाह गर्दै आइरहेको उनले बताए । ‘बसीबसी गर्नसक्ने काम यही भएकाले गिट्टीलाई नै आयआर्जनको माध्यम बनाएको छु ।’–उनले भने–‘गोडाको समस्याले अरु केही काम गर्न सकिँदैन, घर नजिकै बसेर गिट्टी कुट्छु । अहिले गिट्टी नै मेरो सहारा बनेको छ ।’ एक दिनमा करिब दुई बोरा गिट्टी पुग्ने गरेको सुनारले बताए । एक बोराको ६० रुपियाँमा विक्री हुने गरेको उनले बताए । साताभरि कुटेको गिट्टी एकैपटक विक्री हुन्छ । उनी बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म गिट्टी कुट्छन् ।

मजदुरी गर्ने भाइले बिहान संकलन गरिदिएको ढुङ्गाबाट सुनारले गिट्टी बनाउँदै आएका छन् । ‘फुर्सदको समय बिताउन पनि सजिलो भएको छ । आम्दानी पनि हुन्छ ।’–उनले भने–‘भाइको परिवारमा गाह्रोसाह्रो पर्दा हेरफेर गर्ने गरेको छु । गिट्टी कुटेर कमाएको रकमले राम्रै निर्वाह भइरहेको छ ।’ गिट्टी विक्री गर्न समस्या नहुँदा गिट्टी कुटेर आम्दानी पनि भइरहेकाले आत्म निर्भर भएको महसुस हुने गरेको उनको भनाइ छ ।

photo20190908salyan (1)

photo20190908salyan (2)


मिना बुढाथोकी