अपाङ्गता भएका बालबालिकाहरुको पठन पाठनमा समस्या

  ०७५ फागुन २७ गते

पर्याप्त अपाङ्गमैत्री भवन, फर्निचर, शैक्षिक सामग्री र विशेष शिक्षक नहुँदा अपाङ्गता भएका बाल बालिकाहरुलाई पठनपाठनमा समस्या भएको छ ।

विशेष कक्षा सञ्चालन हुने जिल्लाको एक मात्र लिबाङस्थित बालकल्याण नमूना माविमा पनि आवश्यक भौतिक सङ्रचना र विशेष शिक्षक नहुँदा अध्ययन अध्यापनमा समस्या आएको हो ।

तालिम प्राप्त विशेष शिक्षक नहुँदा आफूहरुलाई अन्य विद्यार्थीहरुसँग बसेर पढ्नुपर्ने बाध्यता रहेको एसईईको तयारीमा रहेका दृष्टिविहिन विद्यार्थी शिशिर डाँगीको गुनासो छ ।

करिब १५ वर्ष अघिदेखि दृष्टिबिहीन, सुस्तश्रवण तथा बहिरा बालबालिकाहरुका लागि विशेष कक्षा सञ्चालन गर्दै आएको यो विद्यालयमा अहिले १३ जना दृष्टिबिहीन र १२ जना सुस्तश्रवण भएका विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

साङ्केतिक रुपमा पढाउनका लागि भर्खरै मात्र एक जना शिक्षकले तालिम लिएको भएता पनि शैक्षिक सामग्री नहुँदा पढाउन कठिन भइरहेको विशेष कक्षा शिक्षक लक्ष्मीराज आचार्यले बताए ।

विशेष कक्षा सञ्चालनका लागि पर्याप्त शिक्षक नहुँदा १ देखि १० कक्षासम्मका सबैविद्यार्थीलाई एक्लै हेर्नुपर्ने बाध्यता रहेको विशेष कक्षा शिक्षकको गुनासो छ ।

आधारभूत तहसम्मको अनिवार्य शिक्षा स्थानीय तहले हेर्ने भनिएता पनि विशेष कक्षाको बारेमा भने यहाँका स्थानीय सरकारले कुनै चासो दिएका छैनन् ।

अपाङ्गता भएका बालबालिकाहरुको बारेमा स्थानीय सरकारले चाँसो नदिँदा कतिपय बालबालिकाहरु विद्यालयको पहँुचभन्दा बाहिर छन् ।

विद्यालयमा आएकाहरुले पनि गुणस्तरीय शिक्षा पाउनबाट वञ्चित भएका बालकल्याण नमूना माध्यामिक विद्यालयका प्राचार्य मधुसुदन पोख्रेलले बताए ।

रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले शिक्षा नीति बनाइरहेकाले यसको बारेमा पनि नीति, बजेट तथा कार्यक्रम तय गरिने बताएका छन् ।


माधवकुमार ओली