अपाङ्गता भएका छोराको हत्या आरोपमा बाबु गिरफ्तार

  ०७६ वैशाख १२ गते

शैलुङ गाउँपालिका–४ मागापौवाका २२ वर्षीय अपाङ्गता भएका बेदबहादुर रेग्मीको हत्या गरेको आरोपमा प्रहरीले ४४ वर्षीय बाबु चुडाबहादुर रेग्मीलाई वैशाख ११ गते गिरफ्तार गरेको छ ।

वैशाख ११ गते बिहान शैलुङ गाउँपालिकाको खहरे खोलामा एक व्यक्तिको शव रहेको भनी स्थानीयले जानकारी दिएपछि इलाका प्रहरी कार्यालय मागापौवाबाट गएको प्रहरी टोलीले उक्त शव बेदबहादुर रेग्मीको भएको पत्ता लगाएको प्रहरीले जनायो ।

घटनाको अनुसन्धान गर्ने क्रममा अपाङ्गगता भएका बेदबहादुर वैशाख २ गतेदेखि नै घरगाउँमा नदेखिएको र परिवारले समेत सो सम्बन्धमा कहीँ कतै जानकारी नगराएको पाइएकाले मृतकका बुबालाई सोही दिन गिरफ्तार गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रेशम बोहोराले जानकारी दिए ।

जथाभावी फोहोर गर्दै हिँड्ने बेदबहादुरले वैशाख २ गते पनि घरमा फोहोर गरेको निहुँमा आएर हथौडा (हम्मर) ले टाउकोमा प्रहार गर्दा छोराको तत्कालै मृत्यु भएको र घटना सार्वजनिक हुने डरले रेग्मीले शवलाई कम्बलमा पोको पारी वैशाख २ गते नै खहरे खोलामा फाली गुपचुप बसेको घटना अनुसन्धानका क्रममा मृतका बाबुले कबुलेको इन्स्पेक्टर बोहोराले जानकारी दिए ।  शवको पोष्टमार्टम वैशाख १२ गते प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा गरिएको प्रहरीले जनायो ।


उद्धव पोखरेल