अपाङगमैत्री मतदान केन्द्र बनाउन अपाङ्गता भएका मतदाताहरूको माग

  ०७४ असार ९ गते

असार १४ गते हुने दोस्रो चरणको निर्वाचनमा अपाङ्गता भएका मतदाताहरूले सबै मतदान केन्द्रहरूलाई अपाङ्गमैत्री बनाउन माग गरेका छन् ।

अपाङगता भएका मतदाताले असार ९ गते एक अन्तरक्रिया कार्यक्रममा मतदान केन्द्रमा पुग्न, मतपत्रमा छाप लगाउन र मतपेटिकमा भोट हाल्न सहज हुने ढङ्गबाट अपाङ्गमैत्री मतदान केन्द्र बनाउन माग गरेका थिए ।

२०७० सालको संविधान सभा निर्वाचनमा मतदान केन्द्रहरूलाई अपाङ्गमैत्री बनाउने भनिए पनि नबनाइएको र निर्वाचनमा मतपत्र लिने ठाउँसम्म मात्र र्‍याम्प बनाएर मतदान केन्द्र अपाङ्गमैत्री नहुने राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष भीमबहादुर शाहले बताए ।

उनले अपाङ्गता भएका मतदाताले मतदान केन्द्रमा लाइनमा बस्नु नपर्ने, मतपेटिकासम्म पुग्न र्‍याम्पको व्यवस्था गर्नु पर्ने र ब्रेललिपी र साङ्केतिक मतपत्रको प्रबन्ध हुनुपर्ने माग राखे ।

मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाउन कसैले ध्यान नदिएका कारण अधिकांश मतदाताले मताधिकार प्रयोगबाट वञ्चित हुनुपरेको र मतदान केन्द्रमा र्‍याम्प मात्रै राख्दैमा सबै आठ प्रकारका अपाङ्गता भएका मतदातालाई सहज नहुने मानव अधिकारकर्मी नन्दराज भट्टले बताए । उनले सबैलाई सजिलो हुने गरी मतदानको व्यवस्था गर्नुपर्ने बताए ।

कैलालीका निर्वाचन अधिकृत मोहन अर्यालले मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाउन हरसम्भव प्रयास गरिँदै अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायतलाई मतदान केन्द्रमा लाइनमा नबसेर सहजै मतदान गर्न सक्ने विशेष व्यवस्था मिलाइएको बताए ।


रविना चौधरी