अपहरण तथा बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

  ०७६ भदौ २२ गते

१७ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीले छिन्नमस्ता गाउँपालिका–३ सखडाका २२ वर्षीय दिपककुमार यादवविरूद्ध भदौ २२ गते उजुरी दर्ता गरेको छ ।

 

छिन्नमस्ता शक्तिपिठ मन्दिरमा लागेको भिडभाडको मौका छोपी असार २९ गते पीडित बालिकालाई बेपत्ता पारेका आरोपितले भारतको अमृतसर लगेर पटकपटक बलात्कार गरेको भन्दै पीडितका हजुरबुबाले जिल्ला प्रहरी कार्यालयमा भदौ १९ गते उजुरी दिएका थिए ।

 

यसअघि पीडितका हजुरबुबाले असार ३१ गते जिल्ला प्रहरी कार्यालय मातहत रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिएका थिए भने भदौ १० गते जिल्ला हुलाक कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालयमा उजुरी पठाएका थिए ।

 

भारतको अमृतसर लगेर पीडितसँग विवाहको नाटक समेत गरेका आरोपित र पीडित भदौ १४ गते इलाका प्रहरी कार्यालय सखडामा हाजिर भएका थिए ।

 

आरोपितलाई उनका अभिभावकाले जिम्मा लिएपनि पीडितलाई उनका अभिभावकले जिम्मा लिन नमानेपछि जिल्ला प्रहरी कार्यालयको सुरक्षित आश्रय केन्द्रमा पीडितलाई राखियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भदौ १९ गते गरिएको छ ।

 


मनोहरकुमार पोखरेल