अपहरण घटनाका आरोपित गिरफ्तार

  ०७६ फागुन २९ गते

१४ वर्षीया बालिकालाई अपहरण गरी भाग्दै गरेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका १४ जना नेता कार्यकर्तालाई फागुन २९ गते हतियारसहित गिरफ्तार गरेको छ ।

धनुषा जिल्लाको गणेशमानचारनाथ नगरपालिका –५ चिसापानीका लालबहादुर मोक्तानकी १४ वर्षीया छोरी करिनालाई फागुन २८ गते गौरीखोलाबाट अपहरण गरी ल्याउनेक्रममा प्रहरीले उदयपुरको कटारी नगरपालिका –१ खसीबासबाट घटनाका आरोपितलाई गिरफ्तार गरेको हो ।

१ नम्बर प्रदेश र २ नम्बर प्रदेश प्रहरीको समन्वयमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनीहरूलाई मेडइन युएसय लेखेको ९ राउण्ड गोलीसहित पेस्तोल तीन नाल, सकेट वम ११ ओटा, प्रेसरकुकर वम एक ओटा, डेटोनेटर तार दुई मिटर, खुकुरी दुई थान, मोबाईल सेट २ ओटा, पार्टीका प्रचार तथा बन्दोबस्ती सामग्रीसहित गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिआइएजी प्रधुम्न कार्कीले बताउनुभयो ।

गिरफ्तारीमा परेकामध्ये ६ जना युवती र ८ जना पुरुष रहेका छन् । गिरफ्तारी हुनेमा इलाम फाकफोकथोकका गाँउपालिका–२० वर्षीय मुस्कान राई, सोही जिल्लाको वतासेका १७ वर्षीय आयुस मगर, सुनसरीको इटहरी उपमहानगरपालिकाका २८ वर्षीय विवेक खड्का, सर्लाही लालबन्दीकी १६ वर्षीया रीता कार्की, सोलुखुम्बुका २० वर्षीय विकास राई र ताप्लेजुङ्गकी १६ वर्षीया रञ्जना राई छन् ।

त्यसैगरी उदयपुरका १८ वर्षीय अभिनास तामाङ्ग, त्रियुगा नगरपालिका २० वर्षीय आशिस लामा, धनकुटा पाख्रिबासकी १९ वर्षीया अनिता राई, सिन्धुली ज्यामिरेका १९ वर्षीय इश्वर पुनमगर, कैलालीकी १९ वर्षीया अनुस्का राउत, मोरङ्ग उर्लावारीकी १७ वर्षीया सपना राई, १५ वर्षीय आशिष श्रेष्ठ र भोजपुरका ४५ वर्षीय मनोराम राई रहेको डिआईजी कार्कीले बताउनुभयो ।

फागुन २८ गते अपरहणमा परेकी बालिकालाई खोज्न २ नम्बर प्रदेशका ८२ जना सशस्त्र प्रहरी र ३४ जना नेपाल प्रहरी गरी एक सय १६ जना परिचालित भएका थिए ।

बालिका अपहरण परे लगत्तै आफन्तले प्रहरी चौकी चिसापानीमा खोजी कार्यका लागि निवेदन दिएका थिए । निवेदनसँगै प्रहरी चौकी चिसापानीले सशस्त्र प्रहरीबेस रघुनाथपुरसँग समन्वय गरेको थियो ।

घटनाका विषयमा अनुसन्धान थालिएको डिएसपी कार्कीको भनाइ छ ।

 

 


भरत खड्का