अपहरण गरी हत्या गरेको कसुरमा आरोपितहरूलाई सर्वस्वसहित जन्मकैद

०७५ फागुन १६ गते

सुरुङ्गा नपा–५ हरीपुरका आठ वर्षीय बालक दुर्गानन्द साहको हत्या आरोपमा अदालतले सोही ठाउँका २७ वर्षीय चुडामणी ठाकुर र १९ वर्षीय रामबाबु गुप्ता साहलाई फागुन १५ गते सर्वस्वसहित जन्मकैदको सजाय गरेको छ ।

न्यायाधीश सुदर्शन लामिछानेको इजलासले अभियोग दावी पुग्ने फैसला गर्दै ठाकुर र साहलाई सर्वस्वसहित जन्मकैद सजायको फैसला गरेको अदालतले जनाएको छ ।

बोदे बर्साइन नपा–५ देउरी घर भई राजविराज नपा–८ कञ्चनरुप रोडस्थित मनीषा कम्युनिकेशनका सञ्चालक २२ वर्षीय कपिलदेव दासलाई ६ महिना कैद सजायको फैसला भएको छ ।

आरोपितहरूले ०७३ मङ्सिर ११ गते राति अपहरण गरी बालकको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

बालकलाई डोरीले बाँधेर हत्या गरेपछि बोराभित्र राखेर छिमेकी पन्नालाल साहको सेफ्टी टयाङ्कमा फालेको अवस्थामा सडेगलेको शव भने ०७३ मङ्सिर ३० गते फेला परेको थियो ।

शवको फोरेन्सिक शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएकोमा ०७३ पुस १ गते पोष्टमार्टम गरिएको थियो ।

प्रहरीले आरोपित ठाकुरसहित घटनामा संलग्न रहेको आरोपमा साह र दासलाई ०७३ मंसिर २९ गते गिरफ्तार गरेको थियो ।

पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा ०७३ मंसिर १२ गते खोजतलाशको तथा शव फेला परेपछि ०७३ पुस १ गते आरोपितहरूविरुद्ध कर्तव्य ज्यानको उजुरी दिएकी थिइन् ।

जिल्ला अदालतको आदेशमा ०७३ पुस २८ गतेदेखि ठाकुर र साह पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा र दास धरौटीमा तारेखमा रिहा भएका छन् ।


मनोहरकुमार पोखरेल