अपहरणको एक महिनापछि भेटियो झा दम्पतीको शव

  ०७७ चैत १४ गते

पिपरा गाउँपालिका–५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा र झाकी ६० वर्षीया गीतादेवीको शव चैत १२ गते बिहीबार पिपरा–२ मा गाडिएको अवस्थामा भेटिएको छ । शवलाई गलाउन नुनको प्रयोग गरिएको प्रहरीले जनायो ।

झा दम्पती फागुन १० गते साँझ खाना खाएर सुतेका थिए । तर, बिहान दम्पती सुतेको ओछ्यानसहित ‘बेपत्ता’ भएका थिए । चैत १२ गते घटनाको ३० दिनपछि झा दम्पतीको शव माटोमा गाडिएको अवस्थामा फेला पारिएको हो ।

जग्गा विक्री गर्न नमानेकै कारण झा दम्पतीको हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ । झा दम्पतीका कान्छी बुहारी उषा झाले भन्नु भयो–‘साँझ खाना खाएर आ–आफ्नो कोठामा सुत्न गएका थियौँ । भोलिपल्ट बिहान मेरो कोठा बाहिरबाट चुकुल लगाइएको थियो । नजिकैको घरमा बस्ने जेठानी अंशुले ढोका खोलिदिनु भयो । सासूससुरा घरमा हुनुहुन्थेन । कोठा पनि खुला थिए ।’

यसरी सुरू गर्‍यो प्रहरीले अनुसन्धान
मुसाफिर झा मालपोतका अवकाश प्राप्त सुब्बा हुनुहुन्थ्यो । त्यसैले रिसिइबी हुनसक्ने आशङ्कामा प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

त्यसक्रममा मुसाफिरलाई छिमेकमा बस्ने हरेन्द्र ठाकुरले जग्गा विक्री गर्न दबाब दिने गरेको सूचना पायो ।

जग्गा जमीनको कारोबार गर्ने ठाकुरका साझेदार रामबाबु यादवको घर नजिकै थियो । रामबाबुलाई केही जानकारी हुनसक्ने आधारमा प्रहरीले अनुसन्धान सुरू गर्‍यो ।

रामबाबुको घरबाहिर रगतको टाटा जस्तो देखिएपछि प्रहरीले थप अनुसन्धान चलायो र रामबाबु यादवसहित यादवका छोराहरू २६ वर्षीय सुरेन्द्र यादव र २४ वर्षीय राजेन्द्र यादवलाई गिरफ्तार गर्‍यो ।

बयानका क्रममा उनीहरूले त्यो रङ भएको बताएका थिए । तर, विधि विज्ञान प्रयोगशालामा भएको परीक्षणले त्यो मानव रगत भएको पुष्टि गरेपछि अनुसन्धान रामबाबुमाथि केन्द्रित भएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृत बताउँछन् ।

प्रहरीले जग्गा धनी भारतीय नागरिक हरेन्द्र ठाकुरको कल डिटेल रेकर्ड (सीडीआर) र लोकेशनको विश्लेषण गर्‍यो ।

त्यसक्रममा ठाकुर फागुन १० गते काठमाडौँबाट जनकपुरधाम आएर भोलिपल्ट फर्किएको देखियो । प्रहरीले ठाकुरलाई पनि काठमाडौँबाट गिरफ्तार गरेर महोत्तरी पुर्‍यायो । तर, बयानमा ठाकुरले काठमाडौँबाट जनकपुर पुगेको स्वीकार गरेनन् ।

‘पोलिग्राफ शाखामा लगेर बयानको सत्यता परीक्षण गर्दा ठाकुरले ९९ प्रतिशत झुठो बोलेको देखियो ।’–प्रदेश प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंह भन्नुहुन्छ–‘यसले उनीहरूको संलग्नता हुनसक्ने आशङ्कालाई थप बल पुर्‍याएको थियो ।’

त्यसपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोली पनि बोलाएर अनुसन्धान थालिएको प्रहरी अधिकृतहरू बताउँछन् ।

ब्युरोले एक जना इन्स्पेक्टरको टोली अनुसन्धानमा खटाएको थियो । सीआइबीले जिल्ला र प्रदेश प्रहरी कार्यालयकै टोलीको अनुसन्धानलाई सदर गर्‍यो । तर, झा दम्पतीको अवस्था अज्ञात रहृयो ।

गिरफ्तार परेकाहरूले अभियोग स्वीकार गरेका थिएनन् तर उनीहरूको संलग्नता देखिएपछि महोत्तरी प्रहरीले पत्रकार सम्मेलन गरी चारै जनालाई सार्वजनिक गर्‍यो ।

‘रामबाबुको घरमा रगतको टाटा भेटिनु, रिसिइबी पनि हुनु र प्राविधिक विश्लेषणले पनि घटनामा चार जनाको संलग्ता देखिएको छ ।’–जिल्ला प्रहरी कार्यालयका एसपी दिनेश आचार्यले भन्नु भयो ।

झा दम्पतीको हत्या गरेर शव गाडेको वा पोखरीमा गह्रौँ वस्तुले थिचेर राखेको हुनसक्ने प्रहरीको आशङ्का थियो ।

‘हामीले महोत्तरी र धनुषाका ४२ ओटा पोखरीमा ‘सर्च’ गर्‍यौँ भने केही पोखरीको पानी निकालिएको थियो ।’–डिआइजी सिंहले भन्नु भयो–‘खोजीमा र्‍याफ्टिङ बोट पनि प्रयोग गर्‍यौँ ।’

शङ्कास्पद ठाउँमा खोजीकै क्रममा प्रहरीको टोली चैत १२ गते झा दम्पतीको घरबाट दुई किलोमिटर पश्चिम–दक्षिणको पिपरा–२ मा पुगेको थियो ।

बगरमा खोस्रिएको देखिएपछि खनेर हेर्दा दम्पतीको शव भेटिएको डिआइजी सिंहले बताउनु भयो । ‘शवको अवस्था हेर्दा अपहरणपछि तत्कालै हत्या गरेर गाडिएको जस्तो देखिएको छ ।’–उहाँले भन्नु भयो–‘झा दम्पतीको शव छोरा मनिषकुमारले कपडा र आमाको पोतेका आधारमा सनाखत गरेका छन् ।’

जग्गा बेच्न नमान्दा हत्या
प्रहरीका अनुसार हरेन्द्र ठाकुरले प्लटिङ गर्ने तयारी सहित झा दम्पतीको १४ कठ्ठा जग्गा खरिद गर्ने प्रयास गरेका थिए । ठाकुरले आँखा लगाएको जग्गा विक्री गर्ने विषयमा झा पत्नी गीतादेवीको असहमति थियो ।

पतिलाई पनि जग्गा बेच्न त्यति इच्छा थिएन । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार ठाकुरको नाममा अगाडि र अन्तिममा पनि जग्गा थियो । बीचको जग्गा विक्री गरिदिन उनीहरूले डेढ वर्षदेखि आग्रह गरेका थिए । केही सीप नलागेपछि उनीहरूले धम्की दिएको छिमेकीहरूले बताएका छन् ।

वडा नं. ५ का वडा अध्यक्ष शम्भुप्रसाद यादव पनि झा दम्पती हराएपछि छिमेकीहरूले जग्गा विवादबारे बताएको सुनाउनुहुन्छ ।

झा दम्पतीले जग्गा विक्री नगरेकै कारण अपहरणपछि हत्या गरिएको देखिएको प्रदेश प्रहरी प्रमुख डिआइजी सिंहले पनि बताउनु भयो ।

झा दम्पतीका जेठी बुहारी अंशु भन्नुहुन्छ–‘सासू ससूराको शव फेला परेपछि अहिले परिवारमा सन्नाटा छाएको छ । सासू–ससुराको यस्तो हालत गर्ने व्यक्तिलाई कानुन बमोजिम कारवाही हुनुपर्छ ।’


अजयकुमार साह