अपरिचित व्यक्तिहरूको समूहद्वारा वडा कार्यालयमा आगजनी

  ०७६ असार २४ गते

गेरूवा गाउँपालिका–६ को वडा कार्यालयमा असार २३ गते राति अपरिचित व्यक्तिहरूको समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरूको तीन जनाको समूहले राति ११ र १२ बजेको बिचमा आगो लगाएर मोटरसाइकलमा दक्षिणतर्फ गएका थिए ।

आगजनीबाट कार्यालयका कागजात, कम्प्युटरलगायत सामानहरू जलेर नष्ट भएको वडा अध्यक्ष टेकबहादुर चौधरीले बताए । वडा कार्यालयमा आगजनी भएको सूचना पाए लगत्तै प्रहरीले टोली घटनास्थल पुगेको थियो ।

आगो नियन्त्रण गर्ने क्रममा छत खसेपछि इलाका प्रहरी कार्यालय पाताभारका इन्स्पेक्टर यमबहादुर मल्ल घाइते भएका छन् । घाइतेको नेपालगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मदनजीत महराले बताए ।

वडा कार्यालय वरपर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी भेरी कर्णाली व्युरो लेखिएको पर्चा भेटिएकाले आगजनी उक्त समूहले नै गरेको हुन सक्ने प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङ्गबाङ्गले बताए ।
साथै घटनामा संलग्न पक्षको पहिचान गरी कानुनी दायरामा ल्याउन अनुसन्धान भइरहेको पनि कुरुङ्गबाङ्गले बताए ।


मानबहादुर चौधरी