अपरिचित व्यक्तिहरूको समूहले स्कूलमा तोडफोड गरेको भन्दै प्रहरीमा उजुरी

  ०७५ फागुन ३ गते

देवताल गाँउपालिका–१ बडकी फूलवरियागाँउमा रहेको विद्याबाबा आवासीय बोर्डिङ्ग स्कूलमा अपरिचित व्याक्तिहरूको समूहले तोडफोड गरेको भन्दै पीडित पक्षले फागुन २ गते सन्फुलवा प्रहरी चौकीमा उजुरी दिएको छ ।

अपरिचित व्यक्तिहरूको समूहले फागुन १ गते राति स्कूलमा तोडफोड गरेको ४५ वर्षीय प्रिन्सिपल सफुर मियाँले बताएका छन् ।

फागुन २ गते बिहान ६ बजेको समयमा विद्यालयमा पुग्दा विद्यालयका तीन ओटा ढोका, तीन ओटा कक्षा कोठाको छानो फुटाएको तथा ल्यापटप र बुफर चोरी गरेको पाइएको प्रिन्सिपल मियाँले बताए ।

विद्यालयमा ४ सय ५० जना विद्यार्थी अध्ययन गरिरहेको र विद्यालय तोडफोड भएपछि कक्षामा बस्न समस्या भएको प्रिन्सिपल मियाँले बताए ।

विद्यालयमा भएको तोडफोडको घटनाका विषयमा सन्फुलवा प्रहरी चौकी, देवापुर प्रहरी चौकी दक्षिण झिटकैया र जिल्ला प्रहरी कार्यालय बारामा समेत जानकारी गराएको प्रिन्सिपल मियाँले बताए ।

नम्बर नखुलेका पाँच ओटा मोटरसाइकलमा १० जनाको समूहमा आएका अपरिचित व्याक्तिहरूले तोडफोड गरेको स्थानीयले बताएका छन् ।

स्थानीय ५९ वर्षीय बिजय पाण्डेयले सञ्चालन गरेको उक्त स्कूलमा कक्षा पाँचसम्म पढाइ हुने गरेको छ । विद्यालयमा बिहान र दिउँसो गरी दुई सिफ्टमा अध्यापन गराइरहेको पाण्डेले बताए ।

प्रहरीमा उजुरी दिएपछि स्थानीय र जिल्लाबाट प्रहरी खटिएर मुचुल्का बनाएको प्रिन्सिपल मियाँले बताए ।

घटना बारेमा जानकारी हुनासाथ प्रहरी परिचालन गरेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी रञ्जितसिहं राठौरले बताए ।


भोलानाथ पौडेल