अन्तरजातीय विवाह गरेको आरोपमा खानेपानीबाट वञ्चित भएको पीडितको गुनासो

  ०७६ वैशाख ३१ गते

बुढीगङ्गा गाउँपालिका–२ साख्मा सुकुमवासी बस्तीमा बसोबास गर्ने ऋषिदेव (मुसहर) समुदायका चार परिवार खानेपानीबाट वञ्चित भएको भन्दै खानेपानीको व्यवस्था गरिदिन प्रहरीमा उजुरी परेको छ ।

स्थानीय थापा मगर परिवारको जग्गामा बस्दै आएका उनीहरूले वैशाख २७ गते खानेपानीको व्यवस्था गरिदिन माग गर्दै मोरङ प्रहरीमा उजुरी दिएका हुन् ।

photo20190514morang1

थापामगर परिवारकी १८ वर्षीया युवतीलाई २० वर्षी शनी ऋषिदेवले वैशाख १८ गते अन्तरजातीय विवाह गरेपछि युवतीको परिवारबाट दमन हुने क्रममा चार घर परिवारले प्रयोग गर्दै आएको सार्वजनिक चाँपाकल तोडिदिएपछि खानेपानीबाट वञ्चित हुनु परेको ४० वर्षीया खगनी ऋषिदेवले गुनासो गरिन् ।

थापा मगर परिवारले छोरीलाई झिकाउनु दबाब दिँदै सुरू–सुरूमा कुटपिट गरेको र वैशाख २७ गते सार्वजनिक चाँपाकल तोडिदिएपछि पानी खानबाट वञ्चित भएको दिपनाराण ऋषिदेवले बताए ।

सोही विषयमा वैशाख ३० गते इलाका प्रहरी कार्यालय नेमुवामा पत्रकारसहित भएको छलफलमा ठाकुर ऋषिदेवले थापा मगर परिवारबाट सधैँजसो कुटपिट हुने र वैशाख २७ गते २ हजार ५ सय रुपियाँ उठाएर किनेको चाँपाकल भत्काई दिएपछि खानेपानीबाट वञ्चित भएको बताए ।

चाँपाकल भत्काउनुका साथै पाइपमा गोबर र ढुङ्गा हालिदिएपछि आफूहरू अझ पीडित भएको ठाकुरले बताए ।

बुढीगङ्गा गाँउपालिका–२ का वडाध्यक्ष रेवतीनारायण चौधरीले खानेपानीको मुहान बन्द गर्ने कार्य अमानवीय र गम्भीर मानव अधिकार हनन् भएको भन्दै पीडित पक्षलाई तत्काल खानेपानीको व्यवस्था गर्ने बताए ।

बालविवाह भए कानुन बमोजिम कारवाही अघि बढाउने र खानेपानीको विषयमा तत्काल कारवाही अघि बढाउने जिल्ला प्रहरी कार्यालयका एसपी मनोज केसीको भनाई छ ।


इन्दिरा भट्टराई