अन्तजातीय विवाह गरेकी युवती मृत फेला, हत्याको आशङ्का

  ०७३ मङ्सिर १० गते

ताहुँ गाविस-७ की २४ वर्षीया बिनु पुलामी मगरको शव राम्दीघाटबाट उत्खनन् गरिएको छ । दसैँदेखि बेपत्ता विनुको शव जिल्ला प्रहरी कार्यलय पाल्पाले मङ्सिर ९ गते राम्दी घाटबाट उत्खनन् गरी माइतीको जिम्मा लगाएको हो ।

मृतकका बुवा नरेन्द्र पुलामीले मङ्सिर ८ गते ज्वाँई दिपेन्द्र वस्यालविरुद्ध जिल्ला प्रहरी कार्यालय पाल्पामा किटानी जाहेरी दिएका थिए ।

मृतक बिनुको शव कात्तिक ४ गते नै हुदी गाविस स्थीत कालीगण्डकीको किनारमा फेला परेको भएपनि कतैबाट शव बुझ्न नआएका कारण तानसेन नगरपालिकाले वेबारिसे शव भन्दै राम्दी घाटमा गाडेको थियो ।

विनु बेपत्ता भएपछि उनका बुवा नरेन्द्रले खोजी गरी पाउँ भनी मङ्सिर ७ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा निवेदन दर्ता गराएका थिए ।

जिल्ला प्रहरी कार्यलय पाल्पाका एसपी हरिराज वाग्लेले पुलामी परिवारको जाहेरीपछि अनुसन्धान गर्दा मृतकको कपडाका आधारमा शव पहिचान भएपछि माइती पक्षलाई जिम्मा लगाएको जानकारी दिए ।

एसपी वाग्लेले मृतकका पति दिपेन्द्रको खोजी जारी रहेको र शवको डिएनए परीक्षणको लागि मङ्सिर ९ गते काठमाडौँ पठाएको बताए । बिनुले २०६९ सालमा दीपेन्द्र बस्यालसँग अन्तरजातीय विवाह गरेकी थिइन् ।

पीडित महिलाको माइती पक्षले ज्वाँईले हत्या गरेको आरोप लगाएपनि घटनाको अनुसन्धान जारी रहेकाले यसै भन्न नसकिने एसपी वाग्लेको भनाइ छ ।


यज्ञमूर्ति तिमिल्सिना