अनुसन्धान प्रक्रियामा थप गम्भीर र चनाखो हुनु पर्नेमा जोड

  ०७३ भदौ २ गते

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले प्रारम्भिक चरणमा उजुरीहरू सङ्कलन गरी अनुसन्धानको प्रक्रियामा गइसकेपछि नागरिक समाज अझ चनाखो र सशक्त भएर लाग्नु पर्ने एक कार्यक्रमका सहभागीहरूले बताए ।

इन्सेक, द्वन्द्वपीडित समिति र कर्मशील-नेपालद्वारा भदौ १ गते गुलरियामा आयोजित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको उजुरी प्रक्रियासम्बन्धी सहजीकरण र अनुगमन प्रतिवेदन-०७३ सार्वजनिक कार्यक्रमका सहभागीहरूले उक्त कुरा बताएका हुन् ।

सहभागीहरूले अनुसन्धानको प्रक्रिया उजुरीको चरणभन्दा अझ गम्भीर चरण भएकाले यो समयमा नागरिक समाज लगायत सरोकारवाला निकाय पनि गम्भीर भएर पीडितको पक्षमा वकालत गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै सरोकारवालाहरूले अनुसन्धानको प्रक्रिया सफल नभए उजुरी कार्यले कुनै सार्थकता नपाउनेसमेत बताए ।

बर्दियामा द्वन्द्वपीडित परिवारलाई आयोगसम्म उजुरी दिन पुग्ने वातावरण तयार गर्न स्वयमसेवी भावनाले सङ्गठनको कर्तव्य ठानेर आफूहरूले जिल्लामा अभियानात्मक ढङ्गले काम सञ्चालन गरी यो बीचमा प्राप्त भएका उपलब्धिलाई प्रतिवेदनका रूपमा सार्वजनिक गरिएको द्वन्द्वपीडित समिति बर्दियाका अध्यक्ष भागिराम चौधरीले बताए ।

प्रतिवेदन सार्वजनिक गर्दै उनले अभियानको बीचमा आफूहरूले द्वन्द्वपीडित परिवारसँग घरदैलो तथा व्यक्तिगत भेटघाट, सामूहिक अन्तरक्रियात्मक छलफल, अन्तरसम्वाद, टेलिफोन तथा सूचना आदानप्रदान र सञ्चारमाध्यमबाट प्राप्त सूचना, स्थानीय शान्ति समितिबाट प्राप्त जानकारीलाई अनुगमन विधिको रूपमा अवलम्बन गरेको बताए ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगले ०७३ वैशाख २ गतेदेखि साउन २६ गतेसम्म सशस्त्र द्वन्द्वको क्रममा भएगरेका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको जाँचबुझका लागि उजुरी आह्वान गरेको थियो ।

आयोगको गतिविधिमा पीडित परिवारहरूको पहुँच सहज भएको प्रतिवेदनमा उल्लेख छ । सार्वजनिक कार्यक्रमहरूमा पीडितमुखी कार्य गर्न सरोकारवालालाई दबाब सृजना भएको र सामाजिक सुरक्षा जोखिमको बीचमा पीडितलाई उजुरी दर्ताका लागि सहयोग पुगेको पनि बताइएको छ ।

प्रतिवेदनमा भनिएको छ-'आयोगमा उजुरी दर्ता प्रक्रियामा पीडितहरूको सहभागिता बढाउन सहयोग पुगेको थियो । जस अनुसार बर्दियामा १ हजार २ सय १५ ओटा उजुरी सत्य निरूपण तथा मेलमिलाप आयोगमा र २ सय ७५ ओटा उजुरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा दर्ता भए ।'

द्वन्द्वकालमा नेपालकै धेरै व्यक्ति बेपत्ता पारिएको बर्दियामा जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार २ सय ७१ जनालाई बेपत्ता पारिएको, ३ सय ९९ जना व्यक्तिको हत्या गरिएको उल्लेख छ ।

कार्यक्रममा बोल्दै बर्दिया नागरिक समाज सञ्जालका संयोजक बालकृष्ण ओलीले अब अनुसन्धानको चरणमा प्रवेश गरिसकेपछि पीडितलाई न्याय दिलाउनका लागि नागरिक समाजले आयोगसहित राज्य र राजनीतिक दलहरूमा दबाब सिर्जना गर्नु पर्ने बताए ।


मानबहादुर चौधरी