अनुदानको नुन महङ्गोमा विक्री हुँदा स्थानीयबासी मर्कामा

  ०७३ माघ १२ गते

सरकारले साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत जिल्लाबासीलाई अनुदानमा दिने आयोडिनयुक्त नुन व्यापारीले खरिद गरेर महङ्गोमा विक्री गर्दा स्थानीयबासी मर्कामा परेका छन् ।

साल्ट ट्रेडिङले जिल्लाका बासिन्दालाई आयोडिनयुक्त नुन प्रति किलो नौ रुपियाँमा विक्री गर्ने गरेको भएपनि सदरमुकाम बाहिरका व्यापारीले ५० देखि ६० रुपियाँमा विक्री गर्ने गरेको स्याडा गाविस-९ का स्थानीयबासी काल्चे सिंहले आरोप लगाए ।

प्रायजसो खच्चडवाला साहुले नेपाल साल्ट ट्रेडिङमा नौ रुपियाँमा खरिद गरी सदरमुकाम बाहिरका गाविसमा ढुवानी गरी एक केजी नुनको तीन केजी उवा, जौ, कोदो, मकै र फापरमा विक्री गर्ने गरेको राया गाविस-१ का स्थानीयबासी चक्रबहादुर शाहीको गुनासो छ । तीन केजी उवा, जौ र कोदोको स्थानीय मूल्य करिब ६० रुपियाँ रहेको छ ।

सदरमुकामदेखि दुर्गममा रहेका गाविसका स्थानीयबासीले व्यापारीले ल्याएको आयोडिनयुक्त नुन महङ्गो भन्दै ढिके नुन नै नजिकको नुन व्यापारीबाट खरिद गरेर ल्याउने गरेको डाँडाफया गाविस-८ का स्थानीयबासी गणेश मल्लले बताए ।

केही स्थानीयबासीले डिपोसम्म पुगेर नौ रुपियाँको दरले नुन किन्ने गरेको र अधिकांश स्थानीयबासीले आयोडिनयुक्त नुन गाउँमा महङ्गो रुपियाँमा किन्ने गरेको मल्लले बताए ।

सरकारले अनुदानमा वितरण गर्ने आयोडिनयुक्त नुन तथा चामल विक्री गर्न नपाइने र्सार्वजनिक जानकारी गर्राईसकेको भएपनि अहिले खरिद तथा विक्री गर्ने व्यक्तिलाई कारबाही गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी रिद्धिप्रकाश सिटौलाले बताए ।

साल्ट ट्रेडिङ कर्पोरेशनका प्रमुख राजबहादुर लामाले एकै पटकमा गाविसमा चाहिने जति आएको नुन गाउँगाउँमा पठाएको बताए । नुन गाउँमा महङ्गोमा वितरण भएको हुन सक्ने बताउँदै कर्पोरेशनका प्रमुख लामाले त्यस्तो गर्ने व्यक्तिलाई कारबाही गरिने प्रतिबद्धता जनाए ।

 


नन्द सिंह