अनुदानको चामल महङ्गो भएपछि स्थानीयबासीले संस्थानको चामल किन्न छाडे

  ०७५ साउन ९ गते

हिमाली जिल्ला डोल्पामा सरकारले दिने अनुदानको चामल महङ्गो भएपछि स्थानीयबासीले खाद्य संस्थानको चामल किन्न छाडेको छन् । दुर्गम तथा हिमाली जिल्लामा सरकारले अनुदानमा नेपाल खाद्य संस्थानको चामल वितरण गर्ने गरेपनि महङ्गो हुने भएपछि स्थानीयबासीले किन्न छोडेका हुन् ।

जापान सरकारले अनुदानमा दिने गरेको जापानी चामलको मूल्य बजारको चामल भन्दा पनि महङ्गो भएपछि जनताले खाद्य संस्थानको चामल किन्न छोडेका हुन् । प्रति केजी ६५ रुपियाँमा विक्री गर्न केन्द्रले मूल्य निर्धारण गरेपछि महङ्गो भन्दै स्थानीयबासीले किन्न नमानेको नेपाल खाद्य संस्थान डोल्पा शाखाले जानकारी दिएको छ ।

जिल्लाको दुनै शाखा, सर्मि डिपो र जुफाल डिपोमा आएको ३ हजार ५ सय १५ क्वीन्टल जापानी चामल विक्री हुन सेकेको छैन । ०७३/०७४ मा ५० रुपियाँ प्रति केजीमा विक्री भएको जापानी चामल यस वर्षएकै पटक प्रति केजीमा १५ रुपियाँ बृद्धि भई ६५ रुपियाँमा पुगेपछि महङ्गो भएको भन्दै यहाँका उपभोक्ताले किन्न नमानेपछि विक्री नभएको नेपाल खाद्य संस्थान डोल्पा शाखाका प्रमुख हरिप्रसाद जोसीले जानकारी दिए ।

जनताले जापानी चामल किन्न नमानेपछि मूल्य समायोजनका लागि जिल्ला समन्वय समितिले आपूर्ति मन्त्रालय र नेपाल खाद्य संस्थानमा पत्राचार गरेको जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढाले बताए । उनले भने-'सरकारले जनताका लागि दिएको अनुदानको चामल नै बजारको भन्दा महङ्गो भयो । उपभोक्ताले किन्न सक्दैनन ।'

पहिलो पटक आठ जातको चामल अनुदानमा

डोल्पामा पहिलो पटक आठ जातको चामल नेपाल खाद्य संस्थाननले वितरण गरेको छ । बजारमा आउने जातको चामल बराबरको गुणस्तर भएको चामल नेपाल खाद्य संस्थानले वितरण गर्ने गरेको डोल्पा शाखाका प्रमुख हरिप्रसाद जोसीले जानकारी दिए । उनले भने-'मूल्य अलि महङ्गो छ । तर, बजारको चामलको भन्दा राम्रो गुणस्तर नेपाल खाद्य संस्थानले अनुदानमा दिने चामलमा छ ।'

हाल डोल्पाको शाखा र डिपोबाट सोना मनसुली प्रतिकेजी ६० रुपियाँ, मध्यम ६०, मकावनपुरे ५२, मोटा ५१, जिरा मसिनो ७०, गोरखनाथ ६५ र उसिना ३५ रुपियाँ प्रति केजीमा नेपाल खाद्य संस्थानले विक्री गर्दै आएको छ ।

सबै उपभोक्तासँग महङ्गो चामल किन्नको लागि पैसा नहुने भएकाले जति सक्दो सस्तो चामल रोज्नु परेको स्थानीय धनरुपे कामीले आफ्नो वास्तविकता सुनाए । उनले भने-'छाक टार्नकै लागि खाद्यान्नको चामल किन्नु पर्छ । मिठो खाने भए त बजारकै किने भइ हाल्यो नी ! सबैसँग बजारको र खाद्य संस्थानको महङ्गो चामल किन्ने क्षमता छैन ।'

७ हजार ४ सय ९१ क्वीन्टल चामल ढुवानी हुन सकेन

डोल्पा जिल्लाका लागि आर्थिक वर्ष०७४/०७५ मा २४ हजार २ सय क्वीन्टल चामल ढुवानी हुनु पर्नेमा १६ हजार ७ सय ९ क्वीन्टल मात्र ढुवानी भएको छ । नेपालगञ्ज, दाङ, सुर्खेत र जुम्लाबाट तीन वटा ठेकेदारले डोल्पाको लागि ढुवानी गर्ने जिम्मा लिएपनि आर्थिक वर्षसकिँदासम्म ढुवानी पुरा गर्न सकेका छैनन् ।

यातायातको समस्या सडक जोखिम र खच्चडबाट ढुवानी गर्नुपर्ने बाध्यता रहेकाले ढिलाइ हुने गरेको ईन्द्रदिप कन्स्ट्रक्सन, सिर्द्धार्थ ढुवानी सेवा र ओम जयदुर्गे ढुवानी सेवाको दावी रहेको छ । यता जिल्लामा ढुवानी भएको चामल भने जनताले सरकारले महङ्गो दररेटमा बिक्री गर्न खोजेको भन्दै लिन मानेका छैनन् ।

महङ्गो नै भएपनि दैनिकी चलाउन जनताले अन्य जातको चामल खाद्य संस्थानबाट खरिद गरिरहेका छन् । हाल जिल्लामा ढुवानी भएको चामलमा १ हजार २ सय ६९ क्वीन्टल चामल मात्र मौज्दात रहेको र त्यसमध्ये लगभग १ हजार २ सय क्वीन्टल जापानी चामल नै रहेको नेपाल खाद्य संस्थान शाखा कार्यालय डोल्पाले जानकारी दिएको छ ।

जापानी मात्र नभएर सरकारले अनुदानमा दिने सबै जातका चामलको मूल्य महङ्गो भएका कारण समायोजन हुनुपर्ने माग जनताको छ । जनताका लागि अनुदान भन्ने मात्र गरेको तर व्यापारी शैलीमा चामल उपभोक्तालाई विक्री गरेको स्थानीयबासी धनरुपे कामीको आरोप छ ।


विष्णुप्रसाद देवकोटा