अनसनरत तिवारीको जीवन रक्षा गरः आयोग

  ०७३ मङ्सिर २२ गते

स्वास्थ्य क्षेत्रको समग्र सुधार तथा सप्तरी जिल्लाको राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालको व्यवस्थापन तथा सुधारलगायतका २६ सूत्रीय माग राखी विगत १५ दिनदेखि अनसनरत विकास तिवारीको स्वास्थ्य अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगकी सदस्य एवम् प्रवक्ता मोहना अन्सारीद्वारा मङ्सिर २२ गते हस्ताक्षरित विज्ञप्तिमा तिवारीको स्वास्थ्य अवस्था कमजोर बन्दै आएकोले जीवन रक्षाको अपिल गरिएको हो ।

'विरोधको स्वरुप जस्तोसुकै भएपनि अनसनरत तिवारीको जीवन रक्षा एवम् स्वास्थ्यप्रति संवेदनशील हुन, सार्थक वार्ता र सम्वादबाट समस्याको समाधान खोज्न आयोग सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।'-विज्ञप्तिमा भनिएको छ ।

अनुगमनको क्रममा, सरकारी अस्पतालका भवनहरू तथा उपचारका उपकरणहरू जीर्ण बन्दै गएका, पीउने पानीको अभाव, फोहोरको सही व्यवस्थापन नहुँदा अस्पताल क्षेत्रमा दुर्गन्ध फैलिनेलगायतका समस्याहरू देखिएको भन्दै आयोगले स्वच्छ पीउने पानी, खाना, शौचालयलगायत भौतिक सामग्रीहरूको उपलब्धता र गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।

अस्पताल सुधारलगायतका विभिन्न माग राखी नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका अध्यक्ष विकास तिवारी मङ्सिर ८ गतेदेखि आमरण अनसनमा छन् ।


अनलाइन डेस्क