अनसनरत डा. केसीलाई काठमाडौँ लैजाने तयारी

  ०७६ कात्तिक २५ गते

डडेल्धुराबाट आफ्नो १७ औं अनसन सुरु गरेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्थामा समस्या देखापरेपछि काठमाडौँ लैजाने तयारी भएको छ ।

डा. केसीलाई काठमाडौँ लैजनाका लागि नेपाली सेनाको हेलिकप्टर डडेल्धुरा पुगेको छ । डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलका अनुसार उनलाई काठमाडौं लैजान सेनाको हेलिकप्टर दह व्यारेकमा ल्यान्ड समेत गरिसकेको छ । तर, डाक्टर केसीले डडेल्धुरा नछोड्ने अडान लिएका छन् ।

कात्तिक २५ गते अनसनको आठौँ दिनमा आइपुग्दा उनको स्वास्थ्य निकै गम्भीर बनेपछि काठमाडौँ लैजाने तयारी भएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अनसन बसेको ठाउँबाट पाचौँ दिनमा डडेल्धुरा अस्पतालमा सारिएको थियो ।

डाक्टर केसीको ज्यान जोखिममा भएकाले अस्पतालले स्थानान्तरण गर्न भन्दै कात्तिक २४ गते विज्ञप्ति निकालेको थियो ।

उनको ब्लड प्रेसर घट्न थालेको, मुटुको चालमा वृद्धि भइ समस्या देखिएको, रगतमा अक्सिजनको मात्रा घटेको र मिर्गाैलामा समस्या देखिएको अस्पतालका निमित्त मेसु डाक्टर जितेन्द्र कँडेलले बताए  ।

केसीका समर्थकद्वारा आन्दोलन
प्रहरीले अनसनस्थल छोड्न दबाब दिएपछि कात्तिक २५ गते बिहानैदेखि डडेल्धुरा सदरमुकाम तनावग्रस्त बनेको छ ।

केसी पक्षधरले प्रहरी प्रशासनको विरोधमा नाराबाजी गरिरहेका छन भने प्रहरीले केसीलाई अस्पतालबाट स्थानान्तरण गर्ने तयारी गरेको छ । अहिले अस्पतालमा परिसरमा ठूलो सङ्ख्यामा सादा पोशाकसहितका प्रहरीहरू परिचालन गरिएको छ ।

आठ दिनदेखि आमरण अनसनमा रहेका केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि प्रहरीले बल प्रयोग गरेरै भएपनि उनलाई काठमाडौँ लैजाने तयारी गरेको छ ।

केसीले भने आफ्ना मागको सम्बोधन नभएसम्म डडेल्धुरा नछाड्ने अडान दोहोर्‍याएका छन । केसी पक्षधरहरुले सरकारले माग पुरा गर्नुको साटो उनलाई उपचारका नाममा अनसन बिथोल्न खोजेको आरोप लगाएका छन् । डा. केसीको समर्थनमा बिहानैदेखि डडेल्धुरा सदरमुकाममा विरोध प्रदर्शन भईरहेको छ ।

डा.केसीलाई सुरक्षित स्थानमा सार्न आग्रह  
अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य बिग्रिएपछि थप उपचारका लागि स्थानान्तरण गर्न डडेल्धुरा अस्पतालले आग्रह गरेको छ । कात्तिक २४ गते बेलुकी एक प्रेस विज्ञप्ति जारी गर्दै केसीलाई स्थानान्तरण गर्न आग्रह गरेको हो ।

अस्पतालले केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको समेत जनाएको छ । कात्तिक १८ गतेदेखि डडेल्धुरामा अनसन बसेका डा. केसीलाई निजी घरबाट डडेल्धुरा अस्पताल सारिएको र डा केसीको ब्लड प्रेसर घट्न लागेको, मुटुको चालमा वृद्धि भई समस्या देखिएको, रगतमा अक्सिजनको मात्रा घटेको, मिर्गौलामा समस्या देखिएको अस्पतालले जनाएको छ ।

शारीरिक अवस्था बिग्रँदै गएको जनाउँदै अस्पतालले भौतिक सुविधा नभएको जनाउँदै स्थानान्तरण गर्न आवश्यक भएको जनाएको छ ।

‘अस्पतालमा थप उपचारका लागि आवश्यक पर्ने आइसियू सेवा, एबिजी सेवा, दक्ष जनशक्ति उपलब्ध नभएकाले केसीको स्वास्थ्य स्थितिको गाम्भीर्यतालाई मध्यनजर गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक देखिएको छ ।’–अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले अस्पतालले क्षमताभन्दा बाहिर गएको परिस्थितिलाई व्यवस्थापन गर्न नसक्ने स्पष्ट पारेको छ ।

‘उहाँको स्वास्थ्य अवस्था चिकित्सकीय हैसियतले अस्पतालको क्षमताभन्दा बाहिर गएको बखत डडेल्धुरा अस्पतालबाट कुनै पनि किसिमको जटिलता व्यवस्थापन गर्न नसक्ने जानकारी गरिन्छ ।’–अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।

photo20191111dadeldhura (1)

photo20191111dadeldhura (2)

photo20191111dadeldhura (3)

photo20191111dadeldhura (4)

photo20191111dadeldhura (5)


भुपेन्द्र बिष्ट