अधिवक्ता त्रिपाठीद्वारा ढुङ्गेलविरुद्ध अवहेलना मुद्दा दर्ता

  ०७३ चैत ३० गते

अधिवक्ता डा. दिनेश त्रिपाठीले सर्वोच्च अदालतबाट हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका माओवादी 'नेता' बालकृष्ण ढुङ्गेलविरुद्ध चैत ३० गते सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता गरेका छन् ।

अधिवक्ता त्रिपाठीले दायर मुद्दामा ढुङ्गेलले केही समयअघि एक कार्यक्रममा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको फिला चिर्ने धम्की दिएको भन्दै अदालतको अवहेलना भएकोले तत्काल वारेण्ट जारी गरी गिरफ्तार गर्न माग गरेका छन् ।

पूर्व प्रधानन्यायाधीश श्रेष्ठले ज्यान मारेको अभियोगमा आफूविरुद्ध फैसला सुनाएको भन्दै सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका ढुङ्गेलले त्यस्तो धम्की दिएका हुन् ।

यो मुद्दाको सुनुवाइ चैत ३१ गर्ने गरी अदालतले पेशी तोकेको अधिवक्ता त्रिपाठीले जानकारी दिएका छन् ।

माओवादी नेतासमेत रहेका ढुङ्गेलले ओखलढुङ्गा तारकेराबारीका एकैघरका दाजुभाइ उज्जनकुमार र गणेश श्रेष्ठको हत्या गरेको कसुरमा अदालतले जन्मकैदको फैसला सुनाएको थियो । अदालतको फैसलापछि पनि उनी प्रहरी तथा सरकारी उच्च अधिकारीसँगै उठबस गरिरहेका छन् । उनी संविधानसभाका पूर्व सभासदसमेत हुन् ।


अनलाइन डेस्क