अधिवक्तालाई गाउँपालिकाका अध्यक्षको धम्की, न्यायका लागि उच्च बारमा निवेदन

  ०७७ साउन १५ गते

क्रसर व्यवसायीले धम्की दिएपछि एडभोकेसी फोरम बागलुङका संयोजक तथा मानव अधिकारकर्मी बागलुङ नगरपालिका–१ का राम शर्माले बागलुङ उच्च अदालत बार एसोसिएशनमा आफूलाई असुरक्षा भएको भन्दै निवेदन दिनुभएको छ ।

कालीगण्डकी नदी दोहनको विषयमा लेख्न र बोल्न छोड्न भन्दै पर्वतको जलजला गाउँपालिका अध्यक्ष समेत रहेका रामकृष्ण मल्ल र निर्माण व्यवसायी विप्लव हमालले आफूलाई निरन्तर धम्की दिँदै आएको शर्माले निवेदनमा उल्लेख गर्नुभएको छ ।

लेख्न र बोल्न नछोडे जे पनि हुन सक्ने भन्दै पटक–पटक फोनबाट हमाल र मल्लले आफूलाई धम्की दिएको शर्माले बताउनुभएको छ । समाजमा बदनाम गराइ दिने, एक्लै हिँड्दा विचार गरेर मात्र हिँड्नु भन्दै व्यवसायीहरुले आफूलाई धम्की दिएको शर्माको भनाइ छ ।

शर्माको निवेदन पछि साउन १४ गते उच्च अदालत बार एसोसिएशनले प्रेस विज्ञप्ति जारी गर्दै ध्यानकर्षण भएको जनाएको छ ।

बारका अध्यक्ष हरिप्रसाद शर्मा र सचिव सरिता केसीद्वारा साउन १४ गते संयुक्त हस्ताक्षरित विज्ञप्तिमा बारका पूर्व अध्यक्ष तथा अधिवक्ता शर्माले कालीगण्डकी दोहनका बारेमा फेसबुकमा राखेको विषयमा क्रसर व्यवसायीको धम्की र ब्लाकमेलिङ प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

एउटा कानून व्यवसायीको मान र सुरक्षामा हुन सक्ने कुनै पनि प्रकारको खतरा सह्य नहुने विज्ञप्तिमा उल्लेख छ ।

बारका अध्यक्ष हरिप्रसाद शर्माको अध्यक्षतामा साउन १४ गते बसेको बैठकले अधिकारकर्मी शर्माले अवैध नदी दोहनका विषयमा आवाज उठाउँदा दिइएको धम्की प्रति ध्यानाकर्षण सहित यस प्रकारको गतिविधि रोक्न आग्रह गर्ने निर्णय समेत गरेको छ ।

photo20200730Baglung


सिर्जना पन्त