अधिकार र हिंसाका बारेमा बेखबर ग्रामीण महिलाहरू हिंसा सहन बाध्य

  ०७६ मङ्सिर १७ गते

बैतडीको ग्रामीण क्षेत्रका महिलाहरूलाई अधिकार र हिंसाबारे  जानकार नभएका कारण अनेकौ प्रकारका घरेलु हिंसाहरूको सामना गरिरहेका छन् ।

यहाँका महिलाहरू आफ्ना हक अधिकार र हिंसा के हो ? कसैले आफूमाथि हिंसा गरे कहाँ र कस्तो कारवाही हुन्छ भन्ने बारेमा समेत थाहा नभएको बताउँछन् ।

दशरथचन्द नगरपालिका–४ भुल्यौडाकी राधा भुल ५० वर्षकी हुनुभयो । भुल र उहाँकी बुहारी हरुली हाल गिट्टी कुटेर परिवारको पालनषोषण गर्दै आउनुभएको छ । राधाले भन्नुभयो–‘गिट्टी विक्री गरेर आएको रकमबाट छोरालाई मदिरासमेत किन्न दिनु पर्छ । सासूबुहारीले गिट्टी विक्री गरेको पैसाले छोरालाई मदिरा खान दिनु पर्छ । मदिरा सेवनपछि सासूबुहारीले कुटाइ खानु पर्छ ।’

उहाँले थप्नुभयो–‘पैसा नदिए झन् दिनहुँ कुटाइ खानु पर्छ ।  घरमा शान्ति कहिल्यै हुँदैन । लोग्ने मान्छे यस्तै हुन् भनेर सहेका छौँ । नसहेर पनि के गर्नु ? महिलाको कर्म यस्तै त हो नि !’

भूल्यौडा गाउँमा १ सय १० परिवारको बसोबास छ । यहाँका प्राय सबै महिलाको दुःख राधा भुलको जस्तै छ । यहाँका महिलाहरू दिनहुँको हिंसालाई आफ्नो कर्मको फल र भाग्यसँग जोडेर हेर्ने गर्छन् ।

‘जुन दिन छोरी भएर जन्मियौँ त्यहि दिनदेखि दुःख सुरू भयो ।’–हरूली भुल आफ्नै लबजमा भन्नुहुन्छ–‘सुख पाउन्या कर्म भया त, लोग्न्याँ भै जन्मनुपन्र्या हो ।’

महिला भएका कारण पुरूषको थिचोमिचो सहनुको विकल्प नभएको उहाँले बताउनु भयो । यसरी सिङ्गै गाउँका महिलाहरू नै दैनिकजसो हिंसाको भुङग्रोमा पिल्सिन बाध्य छन् ।

सुदूर पहाडका धेरै महिलाले भोग्ने गरेको दैनिकीको प्रतिनिधि हुन् भुल्यौडा गाउँका महिलाहरू र हरूली अनि राधाहरू ।
घरेलु हिंसाबाट पीडित भएको भन्दै जिल्ला प्रहरी कार्यालय पुगे पनि मिलापत्र गर्नुको विकल्प नभएको स्थानीय हरीना भुलले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो–‘पुलिसको कार्यालयमा निवेदन दिएको खण्डमा लाग्नेविरूद्व मुद्दा दिने भनी गाउँमा हेला गर्छन् ।’  अधिकार र हिंसाबारे पति र पत्निहरूसँगै राखेर जानकारी दिनु पर्ने यहाँका महिलाहरूको भनाइ छ ।

‘महिल अधिकार भन्ने त सुनेका छौँ । तर, हामीलाई अधिकारका लागि लड्यो भने के फाइदा हुन्छ भन्ने बारेमा कहिल्यै जानकारी छैन ।’–स्थानीय नन्दा भुलले भन्नुभयो–‘पतिको कुटाइ खानु त हाम्रा लागि सामान्य जस्तै भइसक्यो ।’

दशरथचन्द नगरपालिका–४ का वडा अध्यक्ष मोहन चन्दले भूल्यौडा  बस्तीमा मदिराका कारण महिलाहरूले सास्ती भोग्नु परेको बताउँदै मदिरा नियन्त्रणको योजना बनाइ रहेको उल्लेख गर्नुभयो ।

दशरथचन्द नगरपाकिाका मेयर नरेन्द्र थापाले मदिराका कारण समस्यामा परेको गुनासो लिएर महिलाहरू आउने गरेको बताउँदै यस प्रकारको समस्या समाधानका लागि छलफल भइरहेको बताउनुभयो ।


नरी बडु