अधिकारकर्मी र सञ्चारकर्मीको रोहवरमा सहमतिपछि कारागारमा लगाएको ताला खुल्यो

  ०७६ कात्तिक १६ गते

बाँके कारागारका कैदीबन्दीले कात्तिक १४ गते लगाएको ताला मानव अधिकारकर्मी र सञ्चारकर्मीको प्रयासपछि उनीहरूकै रोहवरमा कात्तिक १५ गते खोलिएको छ ।

राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक, सञ्चारकर्मी, एडभोकेसी फोरम, थर्ड एलाइन्स सम्मिलत टोलीको रोहबरमा सरकारी टोली र आन्दोलनरत पक्षबीच कारगार भित्र भएका अनियमितता र समस्या पहिचान गरी छानविन गर्न समिति बनाउने, जेलरको सरुवा र चौकीदारलाई पदमुक्त गर्ने सहमतिपछि आन्दोलनरत पक्षले ताला खोलेको इन्सेक प्रदेश ५ का संयोजक भोला महतले बताए ।

कारागारका जेलर भरतराज पाण्डेले १५ लाख रुपियाँ घुस लिएको आरोप लगाउँदै यहाँका कैदीबन्दी आन्दोलनमा उत्रिएका थिए ।

कारगारका प्रमुख जेलर पाण्डे, नाइके भरत फडेरा र चौकीदार मानबहादुर शाहीको मिलेमतोमा कारगारमा लाखौं रुपियाँ हिनामिना भएको आशङ्कासहित कैदीबन्दीले उनीहरूको सरूवाको माग समेत गरेका थिए ।

उनीहरूले उपचार खर्च, सरसफाई खर्च, खाना खर्चको नाममा कैदीबन्दीबाट रकम उठाउँदै आएको आरोप लगाएका छन् ।

कारागारका आन्दोलित कैदीबन्दीले सरकारी सुरक्षा निकायसँग मात्र नभई मानव अधिकारकर्मी र सञ्चारकर्मीको रोहवरमा छलफल र वार्ता गर्ने अडान लिएका थिए ।

यसअघि सिडिओसहितको सरकारी सुरक्षा टोलीले ताला खोल्न गरेको प्रयास असफल भएको थियो भने कारागार प्रसाशन र प्रहरीले राष्ट्रि«य मानव अधिकार आयोगको टोलीलाई समेत कैदी बन्दीलाई भेट्न रोक लगाएको थियो ।


स्मृति देवकोटा