अधिकारकर्मीहरूद्वारा प्रदेश–२ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई ध्यानार्कषण

  ०७७ चैत २५ गते

महोत्तरी जिल्लाबाट ६ जना बालिका र एक जना युवतीलाई भारतबाट उद्धार गरिएको घटनाको अनुसन्धान शीघ्र र पारदर्शी तवरबाट गरी घटनामा संलग्न दोषीलाई कानुनको दायरामा ल्याई कारवाहको माग गर्दै चैत २५ गते इन्सेक प्रदेश २ को नेतृत्वमा अधिकारकर्मीहरूको टोलीले प्रदेश–२ आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवलाई ध्यानार्कषण पत्र बुझाएको छ ।

photo20210407mahottari (5)

इन्सेक प्रदेश २ कार्यालयका संयोजक राजु पासवान, एडभोकेसी फोरम नेपाल प्रदेश २ संयोजक राजकुमार महासेठ, ओरेक नेपाल धनुषा जिल्ला परियोजना संयोजक रोजलिन सिंह बछार, समता फाउण्डेशनका प्रदेश अधिकृत रामपुकार महरा, सिविन–नेपालका प्रदेश संयोजक प्रमेश बादे, युथ एडभोकेसी नेपालका अभियान संयोजक दिवाकर उप्रेती, इन्सेक महोत्तरी प्रतिनिधि अजयकुमार साह, महिला मानव अधिकार रक्षक सञ्जाल धनुषा सदस्य जमुना भुजेल र एमनेष्टी इन्टरनेशनल युवा समूहका सदस्य बलराम साह सहितको टोलीले कानुन मन्त्री यादवलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

मन्त्री यादवलाई बुझाइएको ध्यानाकर्षण पत्रमा पीडित तथा पीडितको परिवारका सदस्यहरूको शान्ति सुरक्षाको सुनिश्चितता हुनु पर्ने र यस्ता घटनाहरू दोहरिन नदिने विषयको प्रत्याभूति दिलाउन सरकारसँग माग गरिएको छ ।

photo20210407mahottari (1)

ध्यानार्कषण पत्र बुझ्दै कानुन मन्त्री यादवले यस घटनालाई निकै महत्वका साथ लिएको र अनुसन्धान कार्य पनि निरन्तर रूपमा सञ्चालित रहेको जानकारी दिनु भयो ।

चैत १७ गते घाँस काट्न गएको बेला सम्पर्क विहीन भएका ६ जना बालिका र एक जना युवतीलाई खोजतलासको क्रममा चैत १८ गते भारतको सीतामढीस्थित रेल्वे स्टेशनमा फेला परेका थिए ।

तत्पश्चात उनीहरूलाई भारतीय प्रहरी, नेपाल प्रहरी, सामाजिक संघ सस्था, मानव अधिकारकर्मी, पत्रकार, स्थानीयहरू र नगर प्रमुख संजिव साहको सक्रियतामा नेपाल ल्याइएको थियो । हाल ती किशोरीहरूलाई मनोपरामर्श सेवाका लागि एक संस्थामा राखिएको छ ।

photo20210407mahottari (4)


अजयकुमार साह