अदालचुलीका सुत्केरी महिलाले दुई वर्षदेखि प्रोत्साहन भत्ता पाएनन्

  ०७६ कात्तिक १९ गते

अदानचुली गाउँपालिकाका सुत्केरी महिलाले दुई वर्षदेखि सुत्केरी प्रोत्साहन भत्ता पाउन सकेका छैनन् । स्वास्थ्यचौकीमा सुत्केरी भए पनि नियमअनुसार भत्ता नदिइएको उनीहरूको गुनासो छ  ।

स्थानीय होइजाली बुमीले ०७४ यता सुत्केरी भएका महिलाले स्वास्थचौकीबाट भत्ता नपाएको बताइन् । सो गाउँपालिकामा भत्ता नपाउनेको सङ्ख्या करिब १ सय १५ जना रहेको स्वास्थ्य चौकीले जनाएको छ ।

महिलाहरू टाढाको पैदल दुरी पार गरेर भए पनि स्वास्थ्यचौकीमै सुत्केरी हुन आउने गरेपनि भत्ता खोई ? भन्दा माथिबाट आएको छैन भनेर गाउँपालिकाले झारो टार्ने काम मात्र गर्ने गरेको सेवाग्राहीको गुनासो छ ।

सोही गाउँकी अनिता बुमी गत वर्ष सुत्केरी भएकी थिइन् । तर, सरकारले स्वास्थ्य संस्थामार्फत् उपलब्ध गराउने भनिएको भत्ता नपाएको उनको गुनासो छ ।

हुम्लामा नियमित स्वास्थ्य परीक्षण र स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी भएबापत् सरकारले जनही १ हजार ५ सय रुपियाँ र बाटो खर्च भनेर ४ सय रुपियाँ दिने गरेको छ ।

स्वास्थ्यचौकीका इन्चार्ज प्रयोगलाल जैसीले सरकारले पठाएको रकम अपुग हुने हुँदा सुत्केरी प्रोत्साहन भत्ता दिन नसकेको बताए ।

इन्चार्ज जैसीले स्वास्थ्यचौकीमा सुत्केरी गराउने ०७४ मा ३३ जना महिला, ०७५ मा १९ जना महिला र ०७६ मा ६३ जना महिलालाई भत्ता दिन बाँकी रहेको जानकारी दिए ।

‘हामीले भत्ताका लागि बजेट मागिरहेका छौँ । तर, सरकारले पठाएको छैन ।’–उनले भने–‘सुत्केरीहरू भत्ताको आस गर्छन् तर हामीले कसरी दिनु ? अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले सुत्केरी प्रोत्साहन भत्ताको लागि पछिल्लो दुई आर्थिक वर्षमा ५ लाख ७० हजार रुपियाँ अपुग भएको बताए ।

‘सरकारले अनुमान गरेभन्दा बढी सङ्ख्यामा सुत्केरी भएकाले पनि यो समस्या देखिएको हुन सक्छ ।’–उनले भने–‘यसका लागि प्रदेश सरकार र सङ्घीय सरकारसँग कुरा गरेको छु । छिट्टै समाधान होला भन्ने आशा छ ।’


नन्द सिंह