अत्यावश्यक स्वास्थ्य सेवा बन्द नगर्न आयोगको आग्रह

  ०७३ मङ्सिर १७ गते

अत्यावश्यक स्वास्थ्य सेवा बन्द नगर्न राष्ट्रिय मानव अधिकार अयोगले मङ्सिर १७ गते प्रेस विज्ञप्ति जारी गरी आग्रह गरेको छ ।

photo20161202chitwan

त्रिविवि शिक्षण अस्पतालमा लामोसमदेखि आमरण अनसनरत डा. गोविन्द केसीको मागहरूप्रति ऐक्यवद्धता जनाउँदै सरकारी चिकित्सक सङ्घ नेपाल र चिकित्सक विज्ञान राष्ट्रिय प्रतिष्ठान नेपाललगायतले मुलुकभर गरेको नियमिति स्वास्थ्य सेवा बन्दप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको भन्दै सो आग्रह गरेको हो ।

आयोगले आजै गरेको अनुगमनबाट चिकित्सकहरूद्वारा आकस्मिक बाहेकका स्वास्थ्य सेवा मङ्सिर १६ गते एक घण्टा र मङ्सिर १७ गते दुई घण्टाको लागि बन्द गर्दा घाइते तथा बिरामीहरूको स्वास्थ्यको अधिकारमा गम्भीर असर परेको पाइएको जनाएको छ ।

डा. केसीको आमरण अनसनका सम्बन्धमा निरन्तर अनुगमन गरी सार्थक वार्ता र सम्वादद्वारा समस्याको समाधान गर्न सम्बन्धित पक्षहरूलाई आयोगले यसअघि पटक पटक आह्वान गरेको जनाएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ-'स्वास्थ्य सेवा जस्तो अत्यावश्यकीय सेवा बन्द गर्ने कार्य प्रचलित नेपालको संविधानको धारा ३६ द्वारा प्रदत मौलिक हक तथा उपभोक्ताको हकसम्बन्धी वर्तमान सिद्धान्त र प्रचलित कानुन विपरित भएको हुँदा यस्ता कार्यबाट आमनागरिकको स्वास्थ्यसम्बन्धी अधिकार कुण्ठित हुन गएको छ ।'

यसैबिच स्वास्थ्य र चिकित्सा क्षेत्रमा सुधारको लागि नौ बुँदे माग राखी कात्तिक २८ गतेदेखि आमरण अनसनरत त्रिविवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै आएको र अनसन बसेको यति लामो समयसम्म पनि सरकारले बेवास्ता गरेको आरोपमा विभिन्न जिल्लाका अस्पतालहरूमा ओपिडी सेवा बन्द गरिएको छ ।

इन्सेक चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार चितवनमा डा. गोविन्द केसीको पक्षमा आन्दोलन गरिरहेका चिकित्सकहरूले शुक्रबार २ घण्टा ओपीडी सेवा बन्द गरेका छन् । ओपिडी सेवा बन्द भएपछि बिरामीले आकस्मिक कक्षबाट सेवा लिनु परेको बिरामीहरूले गुनासो गरेका छन् । केन्द्र र स्थानीय तहमा चिकित्सकहरूले आन्दोलनलाई थप कडा बनाउँदै लगेका छन् ।

नेपाल चिकित्सक सङ्घ चितवनका सचिव डा. भोजराज अधिकारीले जनतालाई दुख दिएर अघि बढ्ने आफूहरूको चाहना र उद्देश्य नरहेको प्रतिक्रिया दिए । बिरामीले सहज रूपमा औषधिमूलो पाउने अधिकार र चिकित्सकले संवेदनशील पेशाको मर्यादा तथा कर्तव्य भुल्दा जनतामा नकारात्मक धारणा देखिएको छ ।

इन्सेक दाङ जिल्ला प्रतिनिधि जेएन सागरका अनुसार डा. केसीको समर्थन गर्दै राप्ती उपक्षेत्रीय अस्पताल घोराहीका डाक्टर तथा स्वास्थ्यकर्मीहरूले मङ्सिर १७ गते घोराहीमा र्‍याली प्रदर्शन गरेका छन् । व्यानरसहित सडकमा उत्रेका डाक्टर तथा स्वास्थ्यकर्मीहरूले डा. केसीले उठाएका माग तत्काल सम्वोधन गरी आमरण अनसनमा बसेका केसीको जीवन रक्षाका लागि अपिल गरिएको राप्ती उपक्षेत्रीय अस्पतालका डा. सन्देश पौडेलले बताए ।

यसैगरी प्राथमिक स्वास्थ्य केन्द्र लमहीका डाक्टर तथा स्वास्थ्यकर्मीहरूले डा. केसीको समर्थनमा आज अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गरेका थिए ।

इन्सेक महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साहका अनुसार डा. गोविन्द केसीको माग सम्बोधन गराउन महोत्तरीको बर्दिवासमा विभिन्न स्वाथ्य  संस्थासँग आवद्ध  स्वास्थ्यकर्मीहरूले मङ्सिर १५ गते देखि पाल टाँगेर २ घण्टे धर्ना दिइरहेका छन् ।

'तलब पनि बढ्यो सांसदहरूको, बजाउँदै छन् मासु र भात ! जनताको लागि लड्ने डा. केसी भोक भोकै दिन र रात' भन्ने मूल नाराका साथ स्वास्थ्यकर्मीहरूले बर्दिवास स्थित सिन्धुली रोडमा बिहान १० बजेदेखि १२ बजे सम्म २ घण्टे धर्ना कार्यक्रम जारी राखेका छन् ।

स्वास्थ्य शिक्षा र अन्य सेवाहरूमा रहेको विकृतिलाई हटाउन माग गर्दै दसौँ पटकसम्म मुलुकका एक जना जिम्मेवार चिकित्सक भोक हडताल गरिरहँदा सरकार मौन भएर बस्नुलाई गैरजिम्मेवारीपन भन्दै स्वास्थ्यकर्मीहरू आन्दोलित भएका हुन् ।


अनलाइन डेस्क