अढाई वर्षीय बालकलाई बलि दिएको आरोपमा झाँक्री गिरफ्तार

  ०७६ साउन ३२ गते

मिथिला नगरपालिका–६ बस्ने सम्भु साहका अढाई वर्षीय छोरा आर्यन साहको अपहरण पश्चात घाँटी रेटेर बलि दिएको आरोपमा प्रहरीले मिथिला नगरपालिका–७ कुसुमबिसौना बस्ने ५५ वर्षीय झाँक्री जङ्गली महतोलाई साउन ३० गते गिरफ्तार गरेको छ ।

यसअघि गिरफ्तारीमा परेका चेलाले आफू गुरूको कुरामा लागेर बालकलाई बलि दिएको स्वीकार गरिसकेका छन् ।

प्रहरीका अनुसार वैशाख २३ गते आर्यन साहको अपहरण पश्चात घाँटी रेटेर बलि दिएको आरोप लागेका महतो फरार रहँदै आएका थिए ।

घटनापछि फरार झाँक्री महतोलाई साउन ३० गते बिहीबार रक्षाबन्धनको दिन घरबाटै इलाका प्रहरी कार्यालय ढल्केबरले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले जानकारी दिए ।

शक्ति बढाउन भन्दै टुनामुना झाँक्री विद्या सिक्दै गरेका छिमेकी गाउँका ५५ वर्षीय सत्रुधन महतोले गएको वैशाख २३ गते राति अपहरण गरी बालक आर्यनलाई घरेलु हतियार प्रयोग गरी घाँटी रेटेर बलि दिएका थिए ।

उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाले गएको जेठ १६ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।

सत्रुधनले आफूलाई झाँक्री सिकाउने छिमेक गाउँका झाँक्री जङ्गली महतोले यौनशक्ति प्राप्त गर्न र शक्तिशाली बन्न बालकको बलि दिन भनेपछि यस्तो घटना घटाएको प्रहरीमा बयान दिएका थिए ।

त्यस पछि झाँक्री महतो फरार भएका थिए भने शत्रुधन महतोलाई असार ११ गते जिल्ला अदालत धनुषाले पूर्पक्षका लागि जेल पठाएको छ ।

न्यायाधीश उपेन्द्रप्रसाद गौतमको इजलासले महतोलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनलाई महोत्तरीको जलेश्वर कारागार पठाइएको छ ।

गएको वैशाख २३ आफ्नो दैलोमा खेलिरहेका बालक आर्यनलाई शक्तिशाली तान्त्रिक बन्न भन्दै महतोले अपहरण गरी त्यही राति २ बजे आफ्नो आँगनमा बलि चढाएका थिए । आर्यनको शव २४ गते बिहान घरनजिकैको बाँसघारीमा फेला परेको थियो ।

बालकलाई बलि दिएको आरोपमा महतोलाई जिल्ला सरकारी वकिलको कार्यालयले आजीवन कारावासको अभियोग दर्ता गराएको छ । महतोमाथि अपहरण, बन्धक, कर्तव्य ज्यान मुद्दा चलाइएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषा, प्रदेश प्रहरी र सङ्घीय प्रहरी एकाईले ६५ जनालाई नियन्त्रणमा लिई विभिन्न कोणबाट सुक्ष्म अनुसन्धान गरेपछि महतोले बालकलाई बली दिएको खुलेको प्रहरीले जनाएको छ ।


अजयकुमार साह