अझै हटेन बहुपति प्रथा, एक व्यक्तिसँग विवाह गरे घरबाट अलग हुनुपर्ने स्थानीयको गुनासो

  ०७६ फागुन २० गते

सुन्दा पनि अचम्म लाग्ने हुम्ला जिल्लाका लामा समुदायको बहुपति प्रथा अझै हटन सकेको छैन् । एक घरमा पाँच भाई छोरा भएपनि एउटा बुहारी ल्याउनु पर्ने सामाजिक मान्यता बिरुद्ध जान नसकिएपछि पढेलेखेका युवाहरूले यसलाई हटाउन सकिरहेका छैनन् ।

नाम्खा गाउँपालिका‐५ मुचु का स्थानीय पाल्जोर लामाका अनुसार ६ जना भाईको एउटै पत्नी रहेकी छन् । लामाले एकल विवाह गरे घरबाट निक्लनु पर्ने भएपछि सबै भाई मिलेर एक जना महिलालाई विवाह गरेको बताउनु भयो । घरको जेठो दाईसँग मात्र विवाह भएपछि अरु सबै भाईले भाउजुलाई पत्नीको रुपमा स्वीकार गर्नुपर्ने चलन छ ।

त्यस्तै सिमकोट गाउँपालिका‐४ का वडा अध्यक्ष छबिचन्द्र लामाका अनुसार आर्थिकसँग सामाजिक मान्यता जोडिएको कारण हुम्लाका लामा बस्तीमा बहुपति प्रथा हटाउन नसकिएको बताउनु हुन्छ । घरमा बिद्रोह गरेर एकल विवाह गर्नु भएका वडा अध्यक्ष लामाले सदरमुकाम सिमकोटसँग जोडिएको आफ्नै गाउँ बुराउसेमा अझै पनि नौ देखि दश प्रतिशत बहुपति प्रथा कायम रहेको बताउनु हुन्छ । बहुपति प्रथाको समस्या अहिले पनि जस्ताको तस्तै रहेको अध्यक्ष लमाको भनाई छ ।

नाम्खा गाउँपालिका‐१ का अध्यक्ष प्रेमबहादुर लामाका अनुसार नाम्खा गाउँपालिकाका सबै वडाहरूमा बहुपति प्रथा कायम छ । पुरानो बाबुबाजेको पाला देखिकै चलन भएको कारण यसलाई सहजै तोड्न सकिने अवस्था छैन । पुरानो नियम भएको कारण कानूनी दायरामा ल्याउन सहज छैन् । वडा अध्यक्ष लामाका अनुसार नाम्खा गाउँपालिकामा करिब ७० प्रतिशत घुरधुरीमा बहुपति प्रथा कायम रहेको जनाउनु हुन्छ ।

यो प्रथाबाट आर्थिक रुपमा घरपरिवार बलियो हुने र सबैले मिलेर काम गर्ने पक्षलाई राम्रो रुपमा लिएपनि एक जना महिलालाई सात जनासम्म पति धान्नु, इच्छा नभएको बेला पनि यौन कार्यमा सहभागिता जनाउनु पर्ने, महिलामा पाठेघरको समस्या देखा पर्ने, लामा समुदायका धेरै युवतीले विवाह गर्न नपाएर बस्न बाध्य रहेको अगुवा महिला च्यामा लामाको गुनासो छ । उनका अनुसार यो पुरानो संस्कारले हामी महिलाहरू स्वास्थ्य शारीरिक अवस्थामा कमजोर हुने गरेका छौँ । यसलाई कानुनी रुपमा हेर्ने हो भने यो संस्कार नियम विपरितको कार्य हो ।

 


नन्द सिंह