अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते

  ०७४ फागुन १७ गते

अज्ञात समूहले फागुन १५ गते राति प्रहार गरेको गोली लागेर बीरगञ्जमा बिन्दवासिनी गाउँपालिकाको झौवागुठीका ३५ वर्षीय उमेश चौरसिया घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय अगाडि रहेको पुरानो यातायात संस्थानको रातो बङ्गलाको पछाडिपट्टि चौरसियालाई 'प्यासन प्रो' बाइकमा आएका अज्ञात समूहले गोली प्रहार गरेको हो ।

चौरसियाको पेटमा गोली लागेको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि बीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गरिएको भएपनि उपचारमा कठिनाइ भएपछि थप उपचारका लागि काठमाडौँ लैजान 'रिफर' गरिएको छ ।

चौरसियाको पेटबाट रगत बग्न नरोकिएकाले उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


केसी लामिछाने