अज्ञात पक्षबाट राखेको बम मेयरको गाडीमा फेला

  ०७६ असोज ७ गते

माई नगरपालिकाका मेयर दीपककुमार थेबेको घरमा राखिएको गाडीमा असोज ६ गते बम फेला परेको छ ।

माई नगरपालिका-२ स्थित थेवेको घरको कम्पाउण्डमा पार्किङ गरेर राखिएको मे १ ज २९११ नम्बरको बोलेरो गाडी मुनी प्रेसर कुकुर बम भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेमन्त भण्डारीले बताए ।

बिहान थेवेको परिवारले बम देखेर प्रहरीलाई खबर गरेको थियो । प्रेसर कुकरमाथि मोबाइल समेत जडान गरेर राखिएको बमलाई झापाको चारआलीबाट आएको नेपाली सेनाको टोलीले साढे ११ बजे डिस्पोज गरेको थियो ।

बम फेला परेपछि जिल्ला प्रहरी कार्यालय इलामका इन्स्पेक्टर सन्तोष बुढाथोकीको नेतृत्वमा प्रहरी टोली दानाबारी पुगेर अनुसन्धान सुरू गरेको डिएसपी भण्डारीले जानकारी दिएका छन् । बम कसले राखेको हो भन्ने अहिलेसम्म खुल्न नसकेको जनाइएको छ ।


कोकिला ढकाल