अज्ञात पक्षबाट मङ्गलसेन नगरपालिकाको गाडीमा आगजनी

  ०७६ जेठ १ गते

सदरमुकामस्थित मङ्गलसेन नगरपालिकाको फोर्ड कम्पनीको बा २ झ ३६९४ नम्बरको गाडीमा वैशाख ३१ गते अज्ञात पक्षले आगजनी गरेको छ ।

नगरपालिकाको कार्यालय अगाडि पार्किङ गरी राखिएको गाडीमा राति २ बजेतिर अज्ञात पक्षले आगजनी गर्दा गाडी पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।

घटनाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, अछामका प्रमुख जनकबहादुर शाहीले बताए ।

नगरको कामको सिलसिलामा काठमाडौँ रहेका मङ्गलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले घटना दुखद् भएको भन्दै कुनै गुनासा भए आफूसँग राख्न सकिने भएपनि सार्वजनिक सम्पतिमा आगो लगाउने काम निन्दनीय भएको बताए ।

गाडीसँगै रहेको नगरपालिकाको जस्तापाताको भवन र कार्यालयमा रहेका सामग्री भने सुरक्षित रहेको प्रहरीले जनाएको छ । एक वर्षअघि नगरपालिकाले १ करोड २० लाख रुपियाँमा उक्त गाडी खरिद गरिएको थियो ।

photo20190515achcham


शिवराज ढुङ्गाना