अज्ञात पक्षबाट बृद्ध दम्पतिको हत्या

  ०७५ फागुन १४ गते

खडक नपा–५, खरचुहियाका ७५ वर्षीय सबुरी साह र उनकी ६५ वर्षीया पत्नी बेचनीदेवी साहको हत्या भएको अवस्थामा फागुन १४ गते शव फेला परेको छ ।

अज्ञात पक्षले बृद्ध साह दम्पतिको हत्या गरी जलाएको अवस्थामा शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।

सप्तरी प्रहरीले पूर्व क्षेत्रीय प्रहरी आवासीय माध्यामिक विद्यालय, धरानबाट तालिम प्राप्त कुकुर र फरेन्सिक एक्सपर्ट मगाएर अनुसन्धान थालेको छ ।

हत्यारालाई चाँडै पत्ता लगाउने दावी गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टले अपराधि पत्ता लगाउन कुनै किसिमको लापरवाही नहोस् र अनुसन्धानमा सहजता होस् भनेर  सुरूवातदेखि नै तालिमप्राप्त कुकुर र फरेन्सिक एक्सपर्टसहितको टोली खटाइएको बताए ।

सधैँ सबेरै उठने गरेका साह दम्पति बिहान आठ बजेसम्म नउठेपछि हेर्न जाँदा दुवैको जलेको अवस्थामा शव फेला परेको छिमेकीहरूले बताए ।

हत्या भएको दावी गर्दै छिमेकी सरस्वती चौधरीले बृद्ध दम्पतिको शरीरको केही भाग र कपडाहरू जलेको तथा कोठा र आँगनमा रगतको टाटा देखिएकाले सुक्ष्म अनुसन्धान गरेर हत्यारालाई पत्ता लगाउनु पर्ने माग गरिन् ।

साह दम्पतिका जेठा छोरा बुहारीसहित उदयपुरको गाईघाटमा र कान्छा छोरा बुहारीसहित सुनसरीको धरानमा बसोबास गर्छन् ।

दुवै छोरा, बुहारी र नाती–नातिनासहित बाहिर बसेकाले साह दम्पति मात्र घरमा बस्ने गरेका थिए । आर्थिक रूपले सम्पन्न साह घरकै एक सटरमा धान, गहुँ, मसला पिँध्ने मिल चलाएर बसेका थिए ।

साहले गाउँलेहरूलाई व्याजमा लाखौँ रुपियाँ ऋणकर्जा दिने गरेको छिमेकीहरूको भनाई छ । मिलनसार स्वभावका साह दम्पतिको गाउँमा कसैसँग झगडा र विवाद नभएको छिमेकीहरू बताउँछन् ।

यता हत्यारालाई पछ्याउँदै सर्च अपरेसनमा खटिएको अनुसन्धान टोलीसहितको तालिमप्राप्त कुकुर घटनास्थलभन्दा दुई किलोमिटरको दुरीमा रहेको एउटा पोखरीमा गएर रोकिएको एसपी विष्टले बताए ।


मनोहरकुमार पोखरेल