अज्ञात पक्षबाट क्रसर उद्योगमा आगजनी

  ०७५ फागुन २७ गते

कृष्णपुर नगरपालिका–५ गुलरियास्थित महाकाली गौरब विल्डर्स क्रसर उद्योगमा फागुन २६ गते राति अज्ञात पक्षले आगजनी गरेको छ ।

उद्योगमा रहेको से १ क २५८ नम्बरको जेसिबीमा डिजेल र पेट्रोल छर्केर अज्ञात पक्षले आगजनी गरेको र आगजनिबाट जेसिबी जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनास्थलमा महाकाली गौरब विल्र्डस माथिको कारवाही किन ? भन्ने पर्चा समेत भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णराज ओझाले बताए ।

उक्त पर्चामा मापदण्ड विपरीत क्रसर उद्योग सञ्चालन, मजदुरमाथि श्रमशोषण गरेको, राज्यको सम्पति दोहन, ठेक्का लिएको काम समयमै नगरेको, सुधारका लागि जनस्तरबाट सुझाव दिँदा पनि नमानेको लेखिएको छ ।

इन्कलाव जिन्दावाद नामद्वारा हस्ताक्षर गरिएको पत्रमा उद्योगलाई कमजोरी सच्याउन चेतावनीसमेत दिइएको छ ।

उद्योगमा आगजनी कसले ग¥यो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णराज ओझाले बताए ।


कोमलनिरन्जन भाट