अज्ञात पक्षद्वारा वडा कार्यालयमा आगजनीको प्रयास

  ०७६ साउन १५ गते

बर्दगोरिया गाँउपलिका–५ को वडा कार्यालयमा साउन १४ गते राति अज्ञात पक्षद्वारा आगजनीको प्रयास गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ ।

कार्यालयमा आगजनी हुन लागेको भन्ने सूचना प्रहरीलाई प्राप्त भएपछि प्रहरीको टोली तत्काल वाडा कार्यालयमा पुग्दा वडा कार्यालयमा आगजनी हुन नपाएको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी दक्षकुमार बस्नेतले बताए ।

प्रहरी टोली वडा कार्यालयमा पुग्दा कार्यालयको मुल ढोका अगाडि कागज, प्लाष्टिक र सलाईका काटी भेटिएको डिएसपी बस्नेतले बताए ।

आगजनीको प्रयास कसले र किन गर्न खोजेको हो भन्ने बारेमा तत्काल भन्न नसकिने र यसका बारेमा अनुसन्धान भइरहेको समेत डिएसपी बस्नेतले बताएका छन् ।

केही दिनदेखि यस प्रदेशका डोटी, अछाम र कैलाली जिल्लामा अज्ञात पक्षद्वारा वडा कार्यालयहरूमा सृङ्खलाबद्ध रूपमा आगजनीका घटनाहरू हुँदै आएपछि जनप्रतिनिधिहरूमा त्रास फैलिएको प्रहरीले जनाएको छ ।


मैनामोती चौधरी