अज्ञात पक्षद्वारा वडा कार्यालयमा आगजनी

  ०७६ साउन ७ गते

जोरायल गाउँपालिका-४ लक्ष्मीनगरको वडा कार्यालयमा साउन ६ गते राति अज्ञातपक्षद्वारा आगजनी गरिएको छ ।

आगजनीबाट वडा अध्यक्ष र सचिवको कोठामा रहेका कागजात, कुर्सी, टेवल, दराज लगायतका सामग्री जलेर नष्ट भएको वडा नम्बर-४ का अध्यक्ष नन्दराज भट्टले बताए ।

उनले भने-'वडा कार्यालयको माथिल्लो तलामा रहेको अल्मुनियमको ढोका फोरेर कार्यालय भित्र प्रवेश गरी आगजनी गरेको पाइयो । आगजनीबाट करिब ६ लाख रुपियाँ बाराबरको क्षति भएको छ ।'

गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले वडा कार्यालयमा आगजनी हुनु दुखद् भएको बताउँदै घटनामा संलग्न पक्षको पत्ता लगाई कानुनी कारवाही गरिनुपर्ने बताए ।

आगो कसले र किन लगायो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, डोटीका डिएसपी लालबहादुर धामीले बताए ।


बासुदेव जोशी