अज्ञात पक्षद्वारा गाउँपालिकाको भवनमा बम विस्फोट

  ०७७ मङ्सिर ७ गते

ताप्ली गाउँपालिका– ५ स्थित गाँउपालिकाको कार्यालयमा अज्ञात पक्षले मङ्सिर ६ गते राति बम विस्फोट गराएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

गाँउपालिकाको कार्यालय परिसरको नागरिक सहायता कक्षमा मङ्सिर ६ गते राति अज्ञात पक्षले बम विस्फोट गराएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताउनु भएको छ ।

बम विस्फोटनबाट प्रमुख प्रशासकीय अधिकृत,  लेखा अधिकृत, उपाध्यक्षको कार्यकक्षमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका एसपी भिमबहादुर दाहालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

एसपी दहालका अनुसार विस्फोटनबाट कार्यकक्षको ढोका, झ्याल, कम्प्युटर, प्रिन्टर, टेबल, दराज, सोफालगायतका सामानमा क्षति पुगेको छ ।

घटनास्थल प्रहरीचौकी रूपाटारबाट १ सय मिटर उत्तरी क्षेत्रमा अवस्थित छ । मध्यरातमा ठूलो आवाजसहित विस्फोटन भएको स्थानीय शेरजङ्ग ठकुरीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

बम विस्फोटनको जिम्मा कसैले नलिएको र घटनामा संलग्नहरूको खोजी थालिएको एसपी दहालले बताउनु भयो ।

गाउँपालिका अध्यक्ष उद्धवसिंह थापाले बम किन र कसले विस्फोट गराएको हो भन्नेमा  आफू अनभिज्ञ रहेको बताउनु भयो । बम विस्फोटबाट चारकोठे भवन र कम्प्युटरलगायत गरी ४३ लाख रुपियाँ बराबरको क्षति भएको गाँउपालिका अध्यक्ष थापाले बताउनु भयो ।


भरत खड्का