अज्ञात पक्षद्वारा एक्जाभेटर र जेसिभीमा आगजनी

  ०७६ चैत्र ३ गते

मालिका गाउँपालिका–६ तोलावाङमा ०७६ चैत २ गते राति एउटा एक्जाभेटर र जेसिभीमा अज्ञात पक्षले आगजनी गरेको छ ।

क्याराबान कन्स्ट्रक्सनको बा २ क ७४४ नम्बरको जेसिभी र पिसि २१० को बा २ क ९२१० नम्बरको एक्जाभेटर आगजनीबाट पूर्ण रूपमा नष्ट भएको इलाका प्रहरी कार्यालय दरवाङका इन्स्पेक्टर राजेन्द्र अधिकारीले बताउनुभयो ।

राति १२ बजेर ४५ मिनेटको समयमा एक्कासि आगो लागेको सूचनाका आधारमा दरवाङबाट खटिएर गएको प्रहरी टोलीले राति साढे १ बजे आगो नियन्त्रण गरेको इन्स्पेक्टर अधिकारीले बताउनुभयो ।

बेनी–दरवाङ सडक खण्डको मंगला गाउँपालिका–२ को लाम्पाटा देखि मालिका गाउँपालिका–६ दरवाङ सडक स्तरोन्नतिको लागि काम गर्दै गरेको उक्त एक्जाभेटर र जेसिभीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति भएको निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जि.सी.ले बताउनुभयो ।

आगजनी गर्नेहरुको पहिचानका लागि प्रयास भएपनि आगजनी कसले के कारणले  गरेको भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर ध्रुवप्रसाद शर्माले बताउनुभयो ।

photo20200316Myagdi (5)

photo20200316Myagdi (1)

photo20200316Myagdi (6)

photo20200316Myagdi (2)

photo20200316Myagdi (3)

photo20200316Myagdi (4)


अमृत बास्कुने