अख्तियारको कार्यबाहक प्रमुख आयुक्तमा बस्न्यात

  ०७३ कात्तिक ४ गते

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बैठकले आयुक्त दीप बस्न्यातलाई आयोगको कार्यबाहक प्रमुख आयुक्त तोकेको छ ।

प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसद्मा महाभियोगका प्रस्ताव दर्ता भएकाले बस्न्यातलाई कार्यबाहक तोकिएको हो ।

आयोगका सहप्रवक्ता खगेन्द्रप्रसाद रिजालले आयोगको नियमावलीमा प्रमुख आयुक्तको अनुपस्थितिमा उपस्थित आयुक्तमध्ये वरिष्ठ आयुक्तले कार्यबाहक प्रमुख हुने व्यवस्थाबमोजिम सो निर्णय भएको बताए ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का १ सय ५७ सांसदले कात्तिक ३ गते महाभियोगको प्रस्ताव दर्ता गरेपछि कार्कीलाई सोही दिन निलम्बन गरिएको थियो ।

नेपालको संविधानको धारा १०१ को उपधारा ६ मा "संवैधानिक निकायका प्रमुख वा पदाधिकारीले महाभियोग कारबाही प्रारम्भ भएपछि टुङ्गो नलागेसम्म आफ्नो पदको कार्य सम्पादन गर्न पाउने छैन " भन्ने व्यवस्था छ ।

महाभियोगको प्रस्तावलाई संसद्मा तत्काल कायम रहेका सदस्य सङ्ख्याको दुई तिहाइले पारित गर्नुपर्ने प्रावधान छ ।

 


अनलाइन डेस्क