अखाद्य चिनी आयात गरेको आरोपमा उजुरी 

  ०७६ फागुन ३० गते

नेपालको संविधान २०७२ ले व्यवस्था गरेको मौलिक हकको उल्लङ्घन गरी अखाद्य चिनी आयात गरेको भन्दै फागुन ३० गते जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ ।

अखाद्य चिनी आयातकर्ता र संलग्न पदाधिकारीहरूलाई कारवाहीको माग गरी कलैया उपमहानगरपालिका५ निवासी उपभोक्ता हित संरक्षण मञ्च नगर कमिटी अध्यक्ष ४७ वर्षीय नरेशकुमार मोदकले फागुन ३० गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनु भएको हो । उहाँले अनुष्का मल्टिप्रपोज कम्पनी प्रा.लि. कागेश्वरी मनोहरा काठमाडौँलाई उपभोत्ता अधिकार ऐन २०७५ बमोजिम हदैसम्मको कारवाही गर्न उजुरीमा माग गरेको बताउनु भयो ।

फागुन २५ गते साँझ अनुष्का मल्टिप्रपोज कम्पनी प्रा.लि. कागेश्वरी मनोहरा काठमाडौँको नाममा जलेश्वर भन्सार कार्यालय हुँदै भारतबाट आयात गरिएको ट्रक नम्वर क्रमशः ना ८ ख २१५२, ना ७ ख ८३७९ र ना ५ ख ५६७३ मा लोड भएर काठमाडौँ जाँदै गरेको अवस्थामा राजश्व अनुसन्धान कार्यालय पथलैयालाई मौखिक जानकारी दिएको मोदकले बताउनु भयो । फागुन २५ गते राती १ः०० बजे राजश्व अनुसन्धान कार्यालय पथलैयाले  ट्रक नम्वर ना ८ ख २१५२ र ना ५ ख ५६७३ नियन्त्रणमा लिएको मोदकले बताउनु भयो । फागुन २९ गते विहान ५ः०० बजे राजश्व अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको उहाँले बताउनु भयो ।

खाद्य्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जलेश्वर महोतरीले च.नं ७४१/ २०७६/०७७ फागुन २५ गते अखाद्य्य र गुणस्तरहीन चिनी रहेको प्रतिवेदन जलेश्वर भन्सार कार्यालयलाई फागुन २५ गते बुझाएको रेकर्ड रहेको उजुरीमा मोदकले दावी गर्नु भएको छ । आयातकर्ता र भन्सार कार्यालयलाई नेपाल अधिराज्यको संविधान अनुसार कारवाही गर्न माग गरेको मोदकले बताउनु भयो ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले उजुरी अध्ययन गरी कुन कानून अल्लङ्घन भए नभएको सम्बन्धित कार्यालयसँग पहल गर्ने बताउनु भयो । उहाँले कसैले पनि कानुन उल्लङ्घन गर्न मिल्दैन यदी उल्लङ्घन गरेको भए कानून अनुसार कारवाही गर्न पहल गर्ने बताउनु भयो ।


भोलानाथ पौडेल