राइट टु रिजेक्टको व्यवस्था भनेको वितृष्णाको भाव हो

सूर्यप्रसाद श्रेष्ठ
स्वतन्त्र र निर्भयतापूर्वक नागरिकले मतदान गर्न पाउनुपर्छ सूर्यप्रसाद श्रेष्ठ अध्यक्ष राष्ट्रिय निर्वाचय पर्यवेक्षण समिति (नियोक) सूर्यप्रसाद श्रेष्ठ, राष्ट्रिय निर्वाचय पर्यवेक्षण समिति (नियोक) का अध्यक्ष हुनुहुन्छ । प्रजातन्त्रको पुर्नस्थापनापछि २०४८ सालमा सम्पन्न भएको आमनिर्वाचनमा उहाँ निर्वाचन आयोगका प्रमुख आयुक्त हुनुहुन्थ्यो । संविधानसभाको दोश्रो निर्वाचन र यसको सन्दर्भमा श्री श्रेष्ठसँग रमेशप्रसाद तिमिल्सिनाले गर्नुभएको कुराकानी यहाँ प्रस्तुत गरेका छौँ ।
पर्यवेक्षक सँस्थामा आबद्ध भएका हैसियतले यहाँहरू के गरिरहनु भएको छ ?
पर्यवेक्षणको लागि नै खुलेको संस्था भएकाले निर्वाचन आयोगले निर्वाचन पर्यवेक्षणको अनुमति दिनुभन्दा पहिला देखि नै पर्यवेक्षणको काम गरिरहेको छ । नियोकले मतदाता सूची सङ्कलनकै बेलादेखि पर्यवेक्षण गरिरहेको छ । मतदाता नामावली सङ्कलन गर्दा पनि अनेक किसिमका अवरोध देखा परे । निर्वाचन बहिस्कार गर्ने दलका कार्यकर्ताहरूले निर्वाचनमा खटिएका कर्मचारीहरूलाई अवरोध गरेका थिए । जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू, सिमान्तकृत नागरिकहरूको मतदाता सूची सङ्कलन केन्द्रसम्मको पहुँच नै थिएन । हामीले बारम्बर निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै आयौँ । आयोगले पनि सुझावको मनन् गर्दै काम गर्यो । त्यसले गर्दा समग्रमा मतदाता नामावली सङ्कलनको काम राम्रै भयो भन्ने हाम्रो धारणा छ । हामी अहिले आएर मात्रै पर्यवेक्षणमा छैनौँ । निर्वाचन सम्पन्न गर्न भनि बनाइएको यो सरकार गठनकै बेलादेखि हामीले निर्वाचनसँग सम्बन्धित गतिविधिहरू नियालिरहेका छौँ । निर्वाचन स्वच्छ, स्वतन्त्र र निर्भयतापूर्वक नागरिकले मतदान गर्न पाउन् । यो आम नागरिककको अधिकार हो । जनताको इच्छा, चाहना निर्वाचनले पूर्णरुपले प्रत्याभूति दिनुपर्छ । हाम्रो पर्यवेक्षण त्यसैमा केन्द्रित छ ।
पर्यवेक्षण गर्नेहरूले मात्रै टुलुटुलु हेर्ने हो कि थप काम पनि हुन्छ ? विगतमा पर्यवेक्षण गर्ने संस्थाहरूले बुझाएको प्रतिवेदन उपर काम भएको महसुस गर्न नै सकिएन नि ?
होइन, पहिला पनि हामीले बुझाएको प्रतिवेदन उपर काम भएको छ । तर, हुनुपर्ने जति भने भएको छैन । टुलुटुलु हेरेर मात्रै पर्यवेक्षकको भूमिका पूरा हुन सक्दैन । निर्वाचन पूर्व, निर्वाचनको दिन र निर्वाचन पछिका समयमा निर्वाचनकै विषयमा के भइरहेको छ । हेर्ने, अभिलेख गर्ने र सार्वजनिक गर्ने हो । अहिले परिष्कृत मतदाता सूची बन्यो नि । त्यो पहिला पर्यवेक्षण गर्ने संस्थाहरूले दिएको सुझाव अनुसार नै भएको हो । सुझावलाई नै आधार मानिएको छ । शान्ति सुरक्षाको अनुभूति बलियो हुनु पर्छ भनेर पनि पर्यवेक्षण समितिहरूले सुझाव दिएकै थिए । कतिपय हाम्रा सुझावहरूलाई राजनीतिक सहमतिमा राजनीतिक दलहरूले र सरकारले लिन सकेनन् । कानुन नै बनाएर त्यसलाई वेवास्ता गरेको पनि देखियो । पूरै कार्यान्वयनमा आएन भन्न मिल्दैन तर सन्तोषजनक रूपमा पर्यवेक्षकका कुरालाई सुन्ने काम भने नभएकै हो । निर्वाचन भन्ने कुरा पूरै स्वतन्त्र भन्ने हुँदैन । तर २०६४ सालको निर्वाचनलाई धेरैजसो राष्ट्रिय अन्तरराष्ट्रिय पर्यवेक्षण गर्ने संस्थाहरूले धाँधलीरहित भने । निर्वाचन मानवअधिकारको श्रृङ्खला हो । हेर्ने भनेको जनताको विवेकले प्रतिनिधि चुन्न पाए कि पाएनन् भन्ने हो । त्यो त हामी सबैलाई थाहै छ ।
अहिलेसम्मको गतिविधि हेर्दा आगामी निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवम् धाँधलिरहित वातावरणमा सम्पन्न हुन्छ भन्ने आधारहरू छन् ?
नेकपा-माओवादी लगायतको ठूलै समूह निर्वाचनमा सहभागी नहुने भन्दै बहिष्कारमा उत्रिएको छ । यो राष्ट्रकै निम्ति दुर्भाग्यपूर्ण अवस्था हो । किनभने निर्वाचन नै यस्तो माध्याम हो जसले द्वन्द्वको अवस्था अन्त्य गर्छ र समाजमा शान्तिको स्थापना गर्छ । निकासको बाटो खोल्छ । प्रतिनिधिमूलक सरकारको व्यवस्था पनि गर्छ । अहिले केही राजनीतिक दलहरू निर्वाचनको प्रक्रियाबाट बाहिर बसेकाले उनीहरूलाई जनताले कसरी लिन्छन् भन्ने कुराको लेखाजोखा हुन सक्दैन । बहिस्कार गर्ने पार्टीको नीति र कार्यक्रमलाई रुचाएको छ कि छैन ? पार्टी प्रति जनताको मत कस्तो छ ? भन्ने कुरा त राजनीतिक दलहरूको प्रतिस्पर्धाबाट नै आउने हो । कोही प्रतिस्पर्धामा आउने कोही नआउने भएपछि त्यो कुरा कसरी थाहा पाउनु । उनीहरू चुनावमा भाग नलिँदा एक किसिमको दुखान्त अवस्था सिर्जना भयो । भाग नलिनु एउटा कुरा हो उनीहरूले त बहिस्कार गर्ने भनेका छन् ।
बहिस्कार पनि दुई किसिमले हुन्छ । एउटा सर्वमान्य खुला प्रजातान्त्रिक एवम् शान्तिपूर्ण बहिस्कार र अर्को चाँहि द्वन्द्व स्थापित गरेर जबरजस्ती बहिष्कार । जबरजस्ती निर्वाचन हुन नदिने कुरा खराब विषय हो । यो बहिष्कार गर्ने पार्टी तथा राष्ट्रकै लागि पनि । निर्वाचनको प्रणाली पद्धति र निर्वाध रूपले निर्वाचन सम्पन्न गर्ने कुरामा त झन् अवरोध नै खडा गर्छु भन्ने अभिव्यक्ति आउँदा निर्वाचनको स्वच्छतामा प्रश्न उठ्नु स्वभाविक नै हो । बाहिरी क्रियकलापले वातावरण बिथोल्न खोजेको देखिन्छ । विथोल्न त मतदाता सूची सङ्कलनमा पनि प्रयास गरेकै हुन् । त्यसमा व्यवस्थापन गरेर सम्पन्न गरियो भने राज्यले चाहेमा, राजनीतिक दलहरूले चाहेमा निस्पक्ष निर्वाचन हुनेमा शङ्का छैन । तर, उनीहरूको चाहना कस्तो छ भन्नेमा निर्भर हुन्छ । साना दलहरूको ठूलै समूह निर्वाचनको बहिस्कारमा लागेका कारण मतदाताहरूमा अन्यौलता आउनु अस्वभाविक होइन । तर, चुनाव नहोला कि भन्ने भ्रम चाँहि पाल्नु हुँदैन । त्यलाई स्वतन्त्र बनाउने जिम्मेवारी तपाईँ हामी सबैको भएकाले निर्वाचनलाई कसरी स्वतन्त्र र धाँधलीरहित बनाउने भन्ने मुख्य कुरा हो ।
२०६४ सालको निर्वाचनलाई चाहिँ यहाँले कसरी हेर्नुभएको छ ?
२०६४ सालमा सम्पन्न संविधानसभाको निर्वाचनले हाम्रो समाजिक अवस्थाको अलिकति प्रतिनिधित्व गरेको थियो । तर, हामीले त्यतिबेला जुन निर्वाचन प्रणालीलाई अँगाल्यौँ त्यो निर्वाचन प्रणालीले सामाजिक विभेदलाई मात्र भन्दा पनि समाजिक सद्भावनालाई जटिलता ल्याइदियो । राजनीतिक दलहरू बिखण्डित हुन थाले, ठूला राजनीतिक दलका नेताहरू पनि साम्प्रदायिकतातिर लागे । क्षेत्रीय सङ्गठनहरूमा आधारित हुन थाले । हाम्रो निर्वाचनको पद्धति र प्रणालीले नै त्यो किसिमको परिवर्तनलाई स्थापित गरिदियो । वैधानिकता प्रदान गर्यो । किनभने यो समूह, यो जाति, यो क्षेत्रले यतियति प्रतिशत पाउनुपर्छ भन्ने आधार बनायौँ नि हामीले । निर्वाचन प्रणालीले नै हामीलाई बिखण्डनको बाटोमा पुर्याएको हो । राजनीतिक दललाई यही खालको क्रियाकलापले कमजोर बनायो र संविधानसभामा शक्ति हिनताको अवस्थामा पुर्यायो । तर, दलहरूले बहुमतीय राजनीतिलाई अँगाले । सरकार बनाउने र गिराउने खेलमा संविधानसभा अल्मलियो । त्यही किसिमको अवस्था फेरि पनि हुन सक्छ । संविधानसभाको लागि उही प्रक्रियाबाट हामी चुनावमा होमिएका छौँ ।
मित्रराष्ट भारतमा जस्तै राइट टु रिजेक्टको महत्व नेपाल पनि छ ?
भारतमा मात्रै होइन अन्यत्र पनि कुनै कुनै मुलुकले गरेको छ । यो राइट टु रिजेक्टको व्यवस्था भनेको जब वितृष्णाको भाव,राजनीतिक दलहरूले बढी नै मै हुँ भनेर जथाभावी गर्ने स्थितिबाट रोक्नको निमित्त यो राजनीतिक दलहरू हामीलाई मन पर्दैन भनेर एक कोलम राखेको हो । हामी कसैलाई पनि भोट दिन्नौँ तर चुनावी प्रक्रियामा सहभागी हुन्छौँ भनेको हो । नेपालको परम्पराअनुसार हामी त्यतातिर गएनौँ । राजनीतिको अवस्था यस्तो हुन्छ भन्ने पनि त थिएन नि । किनभने ३० वर्षसम्म निर्दलीय व्यवस्थासँग लडाइँ गरेर दलीय व्यवस्था आएको हो । यति छिटै २०४६ सालको आन्दोलनलाई चट्ट बिर्सनु हुँदैन । जुन आन्दोलन राजनीतिक निरंकुशता र निर्दलीयताको विरुद्धमा थियो । त्यसले बहुलवादी बहुदलीय व्यवस्थाको स्थापना गर्यो । त्यसलाई बिर्सेर हामी कुनै पनि पार्टीलाई भोट दिन्नौँ भन्ने दफा राखेर निर्वाचन गराउनु त अलि अस्वभाविक पनि थियो । हाम्रा लागि यो विषय स्वभाविक हुन सकेन र अहिले समय पनि भइसकेको छैन ।
सम्बन्धित अन्तरवार्ताहरू
मानव अधिकार उल्लङ्घनकर्ताको सूचीमा समावेश भएकाहरूलाई सरकारले कारवाही गरोस्
राष्ट्रिय मानव अधिकार आयोगले २०७७ असोज २९ गते एक कार्यक्रमको आयोजना गरी मानव अधिकार उल्लङ्घनकताको नाम सार्वजनिक गर्यो । ‘आयोगका २० वर्षः आयोगका सिफारिसहरू र कार्यान्वयन अवस्था’ प्रतिवेदनमार्फत अयेगले मानव…
संविधान कार्यान्वयनमार्फत समृद्धि हासिल हुन्छः डाक्टर दाहाल
डाक्टर काशिराज दाहाल संविधान, कानुन र प्रशासन विद्का रूपमा परिचित नाम हो । संविधान जारी भएको पाँच वर्षको संक्षिप्त समीक्षा गर्ने क्रममा इन्सेक अनलाइनका सम्पादक रमेशप्रसाद तिमल्सिनाले डाक्टर दाहालसँग गर्नुभएको…
हाम्रो प्राथमिकतामा जनताका आधारभूत मानव अधिकार पर्नुपर्छ
अहिले विश्वलाई नै कोरोना महामारीले आतङ्कित बनाएको छ । यो अन्तर्वार्ता तयार पार्दासम्म नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५० हजारको हाराहारीमा पुगेको छ भने विश्वमा झण्डै ९ लाख मानिसले ज्यान गुमाइसकेका…
परिस्थितिलाई बुझे मानसिक स्वास्थ्य बिग्रँदैन
द स्कुल अफ साइकोलोजी नेपालका अध्यक्ष मनोविद डाक्टर नरेन्द्र ठगुन्ना सकारात्मक सोचको विकासले मानसिक समस्या हुनबाट जोगिन सकिने बताउनुहुन्छ । प्राकृतिक विपद् र महामारीपछि हुनसक्ने मानसिक समस्यालाई कम गराउन के…
सङ्क्रमण फैलन नदिन सिमा बन्द गरेका छौँ
अहिले कोरोना भाइरसले विश्व आक्रान्त छ । नेपालमा पनि १२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । चैत ११ गतेबाट नेपाल लकडाउनमा छ । लकडाउन ०७७ को वैशाख ३ गतेसम्मका लागि…