परिस्थितिलाई बुझे मानसिक स्वास्थ्य बिग्रँदैन

डाक्टर नरेन्द्र ठगुन्ना

मनोविद

द स्कुल अफ साइकोलोजी नेपालका अध्यक्ष मनोविद डाक्टर नरेन्द्र ठगुन्ना सकारात्मक सोचको विकासले मानसिक समस्या हुनबाट जोगिन सकिने बताउनुहुन्छ । प्राकृतिक विपद् र महामारीपछि हुनसक्ने मानसिक समस्यालाई कम गराउन के गर्न सकिन्छ त ? मनोविद् डाक्टर ठगुन्नासँग रमेशप्रसाद तिमल्सिनाले गर्नुभएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

प्राकृतिक विपद् वा महामारीपछि मानसिक स्वास्थ्यमा निकै असर पर्छ भनिन्छ । यसको जोखिमका बारेमा केही भन्न सकिन्छ ?

प्राकृतिक विपद्, महामारी वा अकल्पनीय घटनापछि मानसिक स्वास्थ्यमा असर पर्ने गर्छ । यो स्वभाविक पनि हो । यस्तो अवस्थामा मानसिक स्वास्थ्यको जोखिम बढी हुन्छ । कोरोना सङ्क्रमणको महामारीले हाम्रो दैनिकीलाई परिवर्तन गरिदिएको छ । त्यसै हुनाले यस्तो अवस्थामा मानसिक स्वास्थ्यको जोखिम निकै छ । यस्तो प्रक्ष्येपण मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने सङ्घसंस्थाले पनि गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनले पनि यस्तो जोखिम बढ्न सक्ने बताइरहेको छ ।

कस्ताकस्ता प्रकारका मानसिक समस्या देखिन सक्छ ?

तनावको मात्रा बढ्ने, चिन्ता (एन्जाइटी)को समस्या, डिप्रेशनको समस्या, आत्महत्याको समस्या बढ्ने, आघातजन्य घटनापछिको तनावका समस्याहरू देखिने सम्भावना उच्च छ । निन्द्रामा आइपर्ने समस्यासम्बन्धी मानसिक समस्या बढ्न सक्छ । आत्महत्याको जोखिम निकै बढी हुन सक्छ । अमेरिकन साइकोलोजिकल एशोसिएशनले त लकडाउन खुलेपछि आत्म हत्याको जोखिम ह्वात्तै बढ्ने जनाएको छ । त्यसैले अबका दिनमा मानसिक स्वास्थ्यसँग सम्बन्धित विभिन्न अप्ठेरा र जोखिम आइपर्ने निश्चित प्रायः छ ।

यस्ता सम्भावित जोखिमबाट जोगिनका लागि आम नागरिकले के उपाय अपनाउन सक्छन ?

धेरै उपाय हुन सक्छन् । यस्तो बेलामा सन्तुलित आहारलाई निकै ध्यान दिनु पर्छ । अर्को महत्वपूर्ण उपाय भनेको मनमा नकारात्मक कुरा नखेलाउने नै हो । अप्ठेरा, सङ्घर्ष र नराम्रा कुराका बिचमा पनि राम्रा कुरा खोज्ने गर्नु पर्छ । लकडाउन आफैँमा राम्रो विषय होइन । तर, यसबिचमा पनि वातावरण राम्रो भएको, घरैमा रहँदा सम्भावित जोखिमबाट जोगिएको, परिवारका सदस्य सँगै बस्न पाउँदा परिवारबिच सम्बन्ध सुदृढ भएको, माया बढेको, आफ्नै र परिवारको हेरचाहमा बृद्धि भएको जस्ता विषयलाई लकडाउनले दिएको अवसरका रूपमा बुझ्नु पर्छ । सकारात्मकतालाई बढाउने र नकारात्मकतालाई घटाउने गर्दा मानसिक स्वास्थ्यमा आइपर्ने सम्भावित जोखिमबाट जोगिन सकिन्छ । आफ्नै हेरचाह गर्ने र समयलाई सिर्जनात्मक बनाउन केन्द्रीत गर्न सकिन्छ । सृजनशिलताले नकारात्मकतालाई हटाउँछ । आफूलाई मनपर्ने कामका लागि पनि समय छुट्याउने गर्दा सकारात्मक भावनाको विकास हुन्छ । सकारात्मकताले निराशालाई हटाउँछ । ‘यो मनको कुरा त्यो मनले बुझ्ने’ सँग कुराकानी गर्ने गर्नुपर्छ । मनमा आएका विचारलाई स्वीकार गर्दै सकारात्मकतामा ढाल्ने प्रयास गर्ने गर्‍यौँ भने मानसिक स्वास्थ्यका सम्भावित जोखिमबाट जोगिन सकिन्छ ।

फुर्सदको समयमा केही न केही गर्ने र सकारात्मक धारणाको विकासले मानसिक स्वास्थ्य राम्रो हुन्छ भन्न खोज्नु भएको हो ?

जति पनि मानसिक स्वास्थ्यका समस्याबाट पीडित छन् उनीहरूको नकारात्मक सोचको महत्वपूर्ण भुमिका भएको पाइन्छ । खासगरी आफूप्रति, अरुप्रति र परिस्थितिप्रति नकारात्मक हुने प्रवृत्ति भएका मान्छेहरूमा मानसिक समस्या देखिने गर्छ । त्यसैले सकारात्मक सोचको विकास गर्ने, आफूमा आएको सोचलाई स्वीकार गर्ने र महामारीसँग सम्बन्धित अनावश्यक समाचारबाट टाढा रहने गर्दा मानसिक स्वास्थ्य राम्रो हुन्छ । पटकपटक मानिस मरेका, समस्या भएका समाचार पढिरहँदा, सुनिरहँदा र हेरिरहँदा मानसिक स्वास्थ्यमा असर पर्न सक्ने भएकाले सूचना तथा समाचारका लागि निश्चित समय छुट्याएर सूचना लिने गर्नुपर्छ । सामाजिक सञ्जालमा निकै अभ्यस्त हुँदा पनि त्यस्ता खबर आइरहने हुँदा समस्या थपिन सक्छ । यस्ता क्रियाकलापबाट पनि जोगिनुपर्छ ।

अन्यत्रको तुलनामा नेपालमा मानसिक स्वास्थ्य पीडितको दर कम छ भनिन्छ । के यो सही हो ?

सामान्यतय, कुनै पनि घटनापछि घटनाबाट प्रभावित भएका व्यक्तिहरूमध्ये ८–१० प्रतिशत व्यक्तिहरूमा आघातजन्य घटनापछिको तनाव हुने गर्छ भनेर पश्चिमाहरूले गरेको अध्ययनमा भनिएको छ । तर, भूकम्पपछि हाम्रोमा गरिएका अध्ययनले आघातजन्य घटनापछिको तनाव ४–५ प्रतिशत मात्रै भएको पाइन्छ । यद्यपि निकै ठूलाठूला अध्ययन भने भएका छैनन् । हाम्रोमा सामाजिक र सांस्कृतिक संयन्त्रले काम गरेको हुन्छ । दुःख पर्दा अरुलाई सहयोग गर्ने हाम्रो सामाजिक मान्यताले मानसिक स्वास्थ्यको जटिल अवस्थामा जानबाट रोक्छ । धार्मिक आस्था अनुसारका पुजापाठ र भजनकिर्तनले पनि मानसिक स्वास्थ्यमा सहयोग गरिरहेको हुन्छ । यसले गर्दा नकारात्मक विचार बृद्धिमा कमी आउने हुनाले अन्यत्रको तुलनामा नेपालमा मानसिक स्वास्थ्यका पीडितको दर कम नै पाइन्छ ।

परिस्थितिलाई बुझ्ने मानिसमा मानसिक समस्या कम हुन्छ भन्न खोज्नु भएको हो ?

परिस्थितिपछि पूर्व अवस्था ग्रहण गर्न सक्ने क्षमता हुनेलाई मानसिक समस्या कम हुन्छ । महामारीकै सन्दर्भमा कुरा गर्दा मलाई मात्रै भएको होइन सबैलाई हो भनेर स्वीकार गर्न सक्नेलाई यस्तो समस्या कम हुन्छ । परिस्थितिलाई बुझ्ने भनेको यही हो । हाम्रो कनेक्टिभिटी सोसाईटी भएकाले गर्दा आफ्नो र समाजको दुःखसुख सँगसँगै साटासाट गर्ने भएका कारणले गर्दा अरु व्यक्तिसँगको सम्बन्ध, सामाजिक सम्बन्ध तुलनात्मक बलियो छ । आफ्नो समस्या अरुलाई पनि सुनाउँछौँ । यसले मन हल्का हुन्छ । मन शान्त हुन्छ । त्यसैले पनि परिस्थितिलाई बुझ्ने मानिसमा मानसिक समस्या कम हुने गर्छ ।