हिरासतमा लिएकालाई हत्या गरिनु अपराधको पराकाष्टा

सुबोधराज प्याकुरेल

अध्यक्ष, इन्सेक

भारतले सुपुर्दगी गरेर नेपाललाई बुझाएको व्यक्तिको हत्या गर्नु अपराधको पनि महाअपराध हो । यो गैरन्यायीक हत्या हो । यसरी नियन्त्रणमा लिइएका कसैलाई पनि हत्या गर्न पाइँदैन । यो सरासर कानून र अन्तर्राष्ट्रिय मानवअधिकारको विरुद्धमा छ । यो हदै सम्मको फोहोरी काम हो ।

यो त गैरन्यायीक हत्या भन्दा पनि गम्भिर विषय हो । सुपुर्दगी गर्नै नमिल्ने भन्ने होइन । यसको पनि विधि र प्रक्रिया छ र त्यो त्यसको आधारमा हुनुपर्छ । अपराधीको नालीबेली राखेर मात्र सुपुर्दगी गर्न सकिन्छ । त्यसको लागि ट्रायल कोर्टले पहिले फैसला गर्ने र अभियुक्तको रेकर्ड राख्ने काम गर्नु पर्छ । त्यत्तिकै गर्न मिल्दैन । विधि पुर्याएर गर्न सकिन्छ । हिन्दुस्तान सरकारले यसमा विधि र प्रक्रिया पुर्याएर गरेको छैन । नेपालको खातामा पनि त्यो मान्छे ल्याएको भन्ने छैन । यो सरासर गलत छ जिम्मेवार प्रहरी निकायले यस्तो गर्नु हुँदैन । प्रहरीबीचमा अपराधीलाई नियन्त्रणमा ल्याएर जसरी सिध्याउने काम भइरहेको छ, यो अत्यन्तै अमानविय र फोहोरी काम हो । यसको जति नै भत्र्सना गरे पनि अधुरो र अपुरो नै हुन्छ ।

कुनै पक्राउ परेका अभियुक्तलाई मुद्दा चलाउनुको साटो रमेश खरेल जस्तो व्यक्तिले दोहोरो मुठभेड भन्दै गोली ठोक्नु हदै सम्मको गैरन्यायीक कार्य हो । यस्तो गैरकानूनी काम कसैले पनि गर्न मिल्दैन ।

भारतले नेपाल प्रहरीलाई र नेपाल प्रहरीले भारतलाई मानिसहरू समातेर बुझाउने प्रचलन पुरानो हो, जुन अहिले पनि जारी छ । पञ्चायतकालमा त भारतीय प्रहरीहरू सोझै नेपाल आउथे र हडकम्प गर्दै मानिसहरू लैजान्थे । उनीहरूले बोरामा पशुलाई खाँदे जसरी खाँदेर उनीहरूलाई लिएर जान्थे । अहिले त्यस्तो नभए पनि एक देशका प्रहरीले अर्को देशका प्रहरीलाई जसरी अभियुक्तहरू साट्फेर गर्ने प्रचलन छ यो आफैमा प्रचलित मान्यता र कानून विपरित छ । यसरी एक देशका नागरिक एक आपसमा लेनादेना गर्ने सम्झौता भारतसँग भएका कुनै पनि सन्धी र सम्झौतामा पनि छैन । दुई देशका प्रहरीबीच जसरी दोस्ती गर्दै यता समातिएका भारतीय नागरिकलाई उता र उता समातिएकालाई नेपाल प्रहरीलाई बुझाउने चलन छ, यो सरासर गैरन्यायीक छ । यसरी प्रहरी जस्तो जिम्मेवार निकायले यस्तो काम गर्नै मिल्दै-मिल्दैनँ । अझै यसरी सुपुर्दगी गरिएकाहरूलाई हत्या गरिने कुरा त अझै अक्षम्य छ। यो त अपराधको पनि पराकाष्ठा हो ।

तराइमा यसरी मुडभेडका नाममा मानिसहरू मारिदा मानवअधिकारबादी मौन रहे भन्ने जुन आरोप छ यो सरासर गलत छ । यसमा कुनै तुक र सत्यता छैन ।

विभाजन र उग्रता दुई चिजको जलप लगाइदिएपछि त्यो विकृत र बिद्रुप दुबै हुँदो रहेछ । हाम्रो तराईको शान्ति सुरक्षा र जनताको मौलिक अधिकारको सिलसिलामा सबै मान्छेले सत्यबोध गर्नु पर्ने भएको छ । यो राजनीतिको नाममा विभाजनको नाममा विभाजन र उग्रताको राजनीतिको जुन जलप लगाइयो त्यसबाट आफ्नो दुनो सोझ्याउनेका लागि फाइदा भएको छ । उदाहरणका लागि नागरिकताको लागि तीन जनाले सही गरेपछि पात पतिंगरदेखि लिएर गिटी बालुवा सबैले नागरिकता पाउने प्रबन्ध गराए । तर त्यो प्रबन्ध गरिसकेपछि अहिलेका नाम कहलाएका जति नेता थिए ती कोही पनि तराइमा बसेनन्, सबै काठमाडौंमा आएर बसे । हुँदाहुँदा मधेसका बारेमा उग्र लेख र भाषण गर्ने कोही पनि मधेषमा बसेनन्, काठमाडौंमा थुप्रिए । मैले तिनलाई भेटे पिच्छे त्यहाँ गएर बस्न भन्ने गरेको छु, म स्वयं पनि सिरहा जिल्लाको भएका कारणले । तर उनीहरू मधेसमा लाखौंले नागरिकता नपाएको थाहा पाउँदा पाउँदै पनि मौनता साधेँर काठमाडौं थुप्रिय, जुन तराइमा हिंसा फैलनुको प्रमुख कारण हो । कसरी भने विहारबाट नितिशकुमारले खेदेकाहरूले खुलमखुल्ला नेपाली नागरिकता लिइरहँदा उनीहरूले त्यसमा चासो त दिएनन् नै नेपालकै भएर पनि नागरिकता नपाएकालाई नागरिकता दिन सिफारिस गर्नु पर्ने डरले काठमाडौं भागे । विहारबाट आएका आपराधिक मनोवृत्तिका व्यक्तिहरूले त्यहाँका वेरोजगारहरूलाई हिंसाको पाठ सिकाउनु स्वभाविक नै हो । तर यसमा मधेसका नेतादेखि लिएर ठूलाठूला लेख लेख्ने कसैले चासो दिएनन् । उनीहरू नै मधेसमा हिंसा फैलनुको मुख्य कारण हुन् । उनीहरू अरुलाई दोष देखाएर आफैं यस्तो हिंसाका कारक भइरहेका छन् । यसका प्रमुख दोषी मधेसका राजनीति गर्ने भन्ने र पिछडिएका मधेसीका नाम भजाएर डलर खेती गर्नेहरू हुन् ।

यो बोल्ने मानिसहरू यस्तै अपराधको राजनीति गर्नेहरूका दलाल हुन् । यति त्यस्तो बद्नियत र दलाल होइनन् भने अपराधका कुरामा पहाडिया र मधेसी भन्ने कुरा कहाँबाट आयो रु मधेसमा मधेसी मात्र छैनन् । मधेसमा बस्ने पहाडिया पनि पिडित छन् । मधेसमा जति पनि हिंसा फैलिरहेको छ यो यस्तै बकवास सोचाइका कारण भइरहेको छ ।

यस्तै एउटा रोचक कुरा म यहाँ भन्छु । मधेसको हकहितमा काम गर्छु भन्ने एउटा संस्थाले आफ्नो रिपोर्टमा के लेखेछ भने फलानो मधेसीलाई फलानो पहाडीया पुलिसले बोलाएर दुई घन्टा घाममा राख्यो रे ? नेपालको पुलिस चौकी नै त्यस्तै गए गुज्रेका छन् त घाममा नराखे त्यसले कता राखोस् त रु फेरि प्रहरीले पहाडियालाई चाहिँ ज्वाईंलाई जसरी सम्मान दिएर राख्छ त रु राख्दैन । म स्वयंले पनि पटकपटक पञ्चायतमा जेल परेर प्रहरीको व्यवहार भोगेको छु । मलाई त प्रहरीले उल्टै दमन र शोषण गर्यो त रु अपमान खाने हामी पनि यहाँ जिउँदै छौँ त ।

यो सबै पहाडिया र मधेसीबीचको भ्रातृत्व र सहिष्णुता खलल पार्ने दुष्प्रयासबाहेक केही पनि होइन् । यस्तै विचार र संस्थाका कारण हो मधेसमा हिंसाको मानसिकताले प्रश्रय र बढावा पाएको । यदि यस्तो हुन्थेन भने त्यहाँ यतिधेरै हिंसाका घटना हुने थिएनन् । त्यसैले हामीले मधेसीलाई यस्तो गर्यो पहाडियालाई गरेन भनेर विभाजनको रेखा कोर्ने काम गर्नु हुँदैन । यसमा सबैले जिम्मेवार भएर सोच्न जरुरी छ ।

फेरि मानव अधिकारवादीले यसलाई उठाएनन् भन्ने कुरा नै नाजायज छन् । हामीले हाम्रा वर्ष पुस्तक र अनलाईन सबैमा यी विषय बारबार उठाइरहेका छौं ।

गैरन्यायीक हत्या रोक्न के गर्न सकिन्छ ?

यसका लागि सबैभन्दा पहिलो नेपाल भारत सिमानाका सीमालाई 'नांगो’ नछाडेर नियमन गर्दै कडा बनाउनु पर्छ । नक्कली नागरिकलाई पनि तुरुन्तै पक्रेर कारबाही गर्नु पर्छ । अहिले नक्कली नागरिक जो आएका छन् उनीहरू अधिकतम् रुपमा अपराधीहरू छन् । उनीहरू बस्छन् नेपालमा र डकैती र लुटपाट गर्छन् भारतमा । जसको संगतले नेपालमा रहेका बेरोजगारहरूलाई पनि यस्तो कर्ममा लाग्न प्रोत्साहन मिलिरहेको छ । त्यसैले जसलाई मन लाग्यो त्यसलाई आउँन दिन हुँदैन । दोस्रो कुरा नागरिकलाई व्यवस्थित गर्नु पर्छ । भारतको पुलिसले भन्यो भन्दैमा नेपालको पुलिसले गैरन्यायीक काम गर्नु हुँदैन ।

मधेसमा गैरन्यायीक हत्या डरलाग्दो छ । खुला सिमानाका कारण अपराधीहरू बिना अवरोध आइरहेका छन् । यसरी आउन दिन हुँदैन । भारतसँगको हाम्रो सम्बन्धलाई अन्तराष्ट्रिय सार्वभौम अधिकारहरूको आँखाले हेर्नुपर्छ । तर यसो गर्ने हामी यसो गर्दैनौं र मित्रताको नाममा जसलाई पायो उसलाई नागरिकता दिन्छौँ । सारा अपराधमा मुछिएका र पुलिसको लिस्टमा परेका अपराधीहरूलाई बोलाई बोलाई नागरिकता दिन्छौँ । यो तत्काल बन्द गर्नु पर्छ ।

अनि अर्को कुरा त्यहाँका खास नेपाली जो सुकुम्बासी छन्, उनीहरूलाई नागरिकता दिँदैनौँ । यसको खास कारण छ । त्यो के भने उनीहरू वर्षौदेखि जमिन्दारहरूको जमिन जोतेर बसिरहेका छन् । यदि उनीहरूलाई नागरिकता दियो भने त मधेसको राजनीतिमा मेठ बनेर बसेका तिनै जमिन्दारहरूको जमिनमा मोहीयानी हक लाग्न सक्छ । त्यसैले उनीहरू आफ्नो लुटको स्वर्ग कायम गर्न उनीहरूलाई नागरिकता दिन अवरोध गरेका छन् । जसले जन्माएको अभावका कारण पनि त्यहाँ अपराध बढिरहेको छ । यसलाई तत्काल सम्बोधन गर्नुपर्छ ।

मधेसको समस्यालाई देशको सार्वभौम कानून, अस्तित्व नेपालको एकताको दृष्टीकोणले हल गर्नु पर्छ । अहिले त्यसो नगरेर विग्रह निम्त्याउने प्रपञ्च भइराखेको छ । दुर्भाग्य यस्तो फोहोरी खेलमा डलरको खेती गर्ने देखि नेपाली नेपालीको सम्बन्ध तोड्ने र राजनीतिको नाममा दलाली गर्ने क्रम बढेको छ । यो चिन्ताको विषय हो । मधेसको समस्या समाधान गर्न यसतर्फ ध्यान जान जरुरी छ ।

यो लेख रातोपाटीडटकमबाट साभार गरिएको हो ।

(http://www.ratopati.com/2014/06/24/146207.html#sthash.5WQG0x4h.dpuf)