विकासको भोक

सुबोधराज प्याकुरेल

अध्यक्ष, इन्सेक

हामी नेपालीमा आजभोलि विकासको भोक जागेको छ । भौतिक विकास र सामाजिक सुरक्षाको अवस्था माओवादी ‘‘जनयुद्ध’ कालदेखि लगभग ठप्प अवाथामा रह्यो ।  बहुदलीय व्यवस्थाको पुनरागमन भएको झन्डै तीन दशकसम्म कुनै पनि सरकार एक वर्ष पनि टिकेनन् अनि सबैलाई लाग्यो कि स्थिर सरकार नै विकासको आधार

हो । विकासको अर्थ हुन्छ नागरिकमा स्वामित्व भाव र सन्तुष्टिको आर्जन, उदाहरणका लागि अस्ट्रेलिया स्वतन्त्र भए यता एकाध बाहेक कुनै पनि सरकार एक वर्ष टिकेको छैन धेरै विकसित भनिएका डेनमार्क फिनल्याण्ड इजरायल लगायतका दर्जनौँ देशमा अल्पमतको सरकारले शासन गरेको दशकौँ  भइसक्यो हामी कहाँ विकास किन भएन त ? हामी सोच्छौँ कि सरकारले बजेट दिन्छ, कर्मचारीले टेन्डर आह्वान गर्छन् र ठेकेदारले विकास गरिदिन्छ । सुरक्षा भन्नासाथ पुलिसलाई र विकास भन्नासाथ भौतिक विकासलाई सम्झने हाम्रो संस्कारमा आमूल परिवर्तन नआउन्जेल विकासले बाटो लिन सक्नेवाला छैन । सरकार वा राज्यका अङ्ग भनेको जनताको विकासको कृयालाई सहजीकरणसम्म गरिदिने निकाय हुन् ।  बाटो, नहर, अस्पताल वा विद्युत, खानी जस्ता विषय जनताले आफै गर्नसक्ने कुरा होइन ।  त्यसमा विशाल धनराशी, उच्चस्तरीय प्रविधि आदि चाहिन्छ । त्यस्ता ठूला विकासका संरचनाले अरु स–साना विकासका अभियानलाई सहजीकरण गर्छन् तर संरचनाको विकासका साथै जनताले त्यसको उपयोग गर्ने चेतना र उपयोगिता कसरी हुन्छ त्यसमा मात्र जनताको विकासको खाका देखिन्छ ।

हामी कहाँ चर्चा चल्ने गर्छ कि फलानो विकासको काम थोत्रिएर गइसक्यो, कसैले मर्मत सम्हार गर्दैन । गाउँघरमा सरकारले हालिदिएको धाराको टुटी बिग्रन्छ, कसैले मर्मत गर्दैन । पाइप फुटेर पानी खेर गइरहेको हुन्छ, कसैले वास्ता गर्दैन । अनि औँला ठड्याएर सरकारलाई गाली गरेको सुनिन्छ, खोइ, किन मर्मत नगरेको ? भन्दै । यो व्यवहारले बताइरहेको हुन्छ कि हामीले विकास भन्नासाथ अरुले हाम्रो लागि गरिदिने विकास भन्ठानेका छौँ । यो नै हाम्रो अविकास र अवनतिको लक्षण हो । अरुले तपाइँका लागि गरिदिने कुरा दया होला, दान होला, विकास होइन । विकासको आवश्यकतालाई चिनेर त्यसका लागि प्रतिबद्ध हुनु विकासको पहिलो आवश्यकता हो । त्यस्तो विकासको काममा सहजीकरण गर्नसक्ने पात्र पहिल्याउन सक्नु पहिलो क्षमता हो । विकासका काममा संलग्न हुनु अर्थात योगदान गर्न तत्पर हुनु पहिलो सर्त हो र, आफ्नो विकासका लागि निर्मित कामको रेखदेख सम्हारप्रति चनाखो रहेर सामेल हुनु पहिलो दायित्व हो अर्थात प्रतिबद्धता, पात्र, योगदान र सामेली विकासका चार पूर्व सर्त हुन् । यदि घर बनाएर स्कुल अस्पताल चल्ने भए जहाँतहीँ चल्ने थियो । बनाउनासाथ हुने भए भत्किएका सडक, पुल, चुहिने भवन र अतिक्रमित सार्वजनिक जमीन वन देख्नुपर्ने थिएन । सार्वजनिक सम्पत्ति अर्थात् विकासका ती कामहरू जो आम नागरिकका लागि गरिएका हुन्छन् अथवा सार्वजनिक कोषको रकम जुन आमनागरिकबाट लिइएको हुन्छ, त्यसको उपयोग शुद्ध मनले मात्र गर्नु पर्छ र गर्न दिनु पर्छ । सूचनाको हकको कानुन छ । दुरुपयोगको शंका लागेमा सोध्न पाइन्छ । कानुनको शासन भएको देश हो, उजुरी गर्ने निकाय पनि छन् तर निरास भएर अरुलाई सात्तोसराप मात्र गरेर केही हुनेवाला छैन । कुनै पनि सार्वजनिक सम्पत्ति र सेवाको दुरुपयोग गरिएमा त्यसलाई जघन्य अपराध मानिन्छ । किनकी त्यस्तो दुरुपयोगले थुप्रै मानिसलाई दुःख दिन्छ । त्यसैले सार्वजनिक सम्पत्ति सेवा र पदको दुरुपयोग गर्नेलाई दिइने सजायको मात्रा व्यक्तिगत गलत गर्नेलाई भन्दा बढी हुन्छ ।

संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको दिगो विकास लक्ष्य सन् २०३० सम्ममा अर्थात अबको १२ वर्षमा हासिल गर्नुपर्नेछ ।  उक्त लक्ष्यको १७ वटा बुँदा छन् जसमा गरिबीको अन्त्य, भोकमरीको अन्त्य, आरोग्यता, गुणस्तरीय शिक्षा, लैंगिक समानता, साफा पानी र सरसफाइ, स्वच्छ उर्जा, मर्यादित काम र आर्थिक वृद्धि, उद्यम नवीन खोज र पूर्वाधार, असमानताको न्यूनीकरण, दिगो बस्ती, जिम्मेवारीपूर्ण उपभोग र उत्पादन, जलवायुको शुद्धता, नदीनाला र पानीका श्रोतको संरक्षण, वातावरण र वन, शान्ति र न्यायका लागि सशक्त संस्थागत विकास तथा उल्लेखित लक्ष्यका लागि साझेदारी तोकिएको छ । अन्तिम अर्थात सत्रौं बुँदाले घोषित गरेको कुरा के हो भने आमनागरिकको योगदान र साझेदारी बेगर यी लक्ष्य प्राप्त गर्न असम्भव छ । नागरिक समाज, नागरिक र अनेकन क्षेत्रमा सङ्गठित व्यक्तिहरूको साथ सहयोग मात्र होइन कि नेतृत्व बेगर दिगो आर्थिक विकास लक्ष्य प्राप्त गर्न असम्भव हुनेछ । अहिले स्थानीय सरकार बनेको छ । र, संविधान बमोजिम उनीहरूले नागरिक संगठन वा समूहसँग मिलेर काम गर्नसक्ने ढोका खुलेको छ । हाम्रो आवश्यकता अनुसारकै हाम्रो क्षमता पनि हुने गर्छ । यो शास्वत नियम हो । सानो बस्तीका लागि प्राथमिक पाठशाला, उपचार केन्द्र वा प्रसुती सेवा जस्ता कुरा प्राथमिक आवश्यकताका कुरा होलान् ठूला शहरमा कलेज अस्पतालको माग होला । आवश्यकताको पहिचान गर्न, त्यसका लागि आफ्नो तर्फबाट हुनसक्ने योगदानका लागि तत्परता व्यक्त गर्न र राज्यका सम्बन्धित अङ्गलाई परिचालित गरेर सहजीकरण गर्नसक्ने समाजले नै विकासको लक्ष्य हासिल गर्न सक्छ होइन भने विकासको भोक भोक मात्र रहनेछ ।  भोक शान्त हुन कठिन छ ।  किनकी तपाइँको भोक अरुलाई लाग्दैन र, भोक सामना गर्ने तपाइँको इच्छामा कुन चाहिँ स्वाद प्राथमिकतामा परेको छ भन्ने कुरा अरुले जान्दैन । त्यसैले विकासको भोक लाग्नु राम्रो तर भोक निवारणको दिगो उपाय नजान्नु नराम्रो ।